सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्रयागन फ्रुटको व्यावसायिक नर्सरी उत्पादनमा जुटे धनगढीका दिदीभाइ

२०७७ माघ ५, ०३:१५ रक्षा भट्ट

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका १ की ३८ वर्षीया सरिता शाह र उनकै ३१ वर्षीय भाइ खगेन्द्र शाह ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा जुटेका छन्। श्री बडी मालिका बहुउद्देश्यीय कृषि फर्ममार्फत उनीहरुले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शिवनगरमा खेती थालेका हुन्। उनीहरुले खेती सँगै ड्रयागन फ्रुटका बिरुवा बिक्री वितरण समेत थालेका छन्। 

झण्डै ३ वर्ष काठमाडौँमा होस्टेल सञ्चालन गरेका उनीहरु कोरोना भाइरसको महामारी बढ्दै गएपछि धनगढी फर्किएका छन्। ३ तले घर भाडामा लिएर होस्टेल सञ्चालन गरेका उनीहरुलाई पछि घरभाडा तिर्नै गाह्रो हुन थालेपछि घर फर्किएर ड्रयागन फ्रुटको व्यवसाय सुरु गरेको सरिता बताउँछिन् । एक्लैले काम गर्न नभ्याइने भएपछि दुबै जना दिदीभाइले काम सुरु गरेको उनी बताउँछिन्। 

अहिले आफूहरुसँग ३ हजार जति बिरुवा रहेको बताउँदै खगेन्द्र भन्छन् –“प्रतिबिरुवा २ सय ५० का दरले बिक्री गरिरहेका छौ। एकैचोटी धेरै संख्यामा बिरुवा गइरहेको त छैन। त्यस्तै ४/६ ओटा गरेर गइराछ।”

फल्छ कि फल्दैन अथवा स्वाद के कस्तो हुन्छ, फेरि फलाइसकेपछि आम्दानी के कस्तो हुने हो भन्ने द्विविधाका कारण पनि सबैले किनिहाल्ने आँट नगरिरहेको उनी बताउँछन् । 

सरिताले धेरैलाई ड्रयागन फ्रुटबारे थाहा नभएको र थाहा भएकाहरु पनि एकैपल्ट धेरै बिरुवा रोपी व्यावसायिक रुपमै खेती गर्न नसकिरहेको बताउँछिन्। ड्रयागन फ्रुटको खेती गर्न सके यसबाट लगानीभन्दा दोब्बर बढी आम्दानी लिन सकिने उनी बताउँछिन्।

उनी भन्छिन् –“मैले केही समयअघि कोरोनाभन्दा अघिको समय काठमाण्डौँमा गमलामा रोपेर ड्रयागन फ्रुट फलाएकी थिएँ। ६/७ हजारको लगानीमा केही बिरुवा रोपेँ। पछि डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन सकेँ । यद्यपी मैले आफू खानलाई मात्रै भनेर रोपेकी थिएँ।” 

थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने उनको बुझाइ छ। उनी आफू काठमाडौँमा रहँदा ५०० (पाँच सय) रुपैयाँ प्रतिकेजीका दरले बेचेको बताउँछिन्।

उनी भन्छिन् –“२५० रुपैयाँ प्रतिबिरुवा पर्ने ड्रयागन फ्रुटको बिरुवाभन्दा अलि हुर्किएको ५/७ सय जति पर्ने बिरुवा किन्न सकियो भने रोपेको एक वर्षभित्रै फल्छ। सानो बिरुवा भने हुर्काउन अलि बढी समय लाग्छ।” 

उनका भाइ खगेन्द्र ड्रयागन फ्रटको व्यवसाय नै गर्ने इच्छा र सोच आएको बताउँदै भन्छन् –“म २ वर्ष अगाडि काठमाण्डौँमा मकालु पब्लिकेशनमा काम गर्थे। त्यहाँ एग्रीकल्चर सम्बन्धी रिसर्च सेन्टर पनि थियो। त्यसै दौरान अवलोकनका क्रममा काठमाडौँका धेरै ठाउँमा ड्रयागन फ्रुट लगाएको देखेँ। खाँदा पनि स्वादिष्ट लाग्यो, अनि राम्रो फल्ने पनि। मलाई ड्रयागन फ्रूटको व्यवसाय गर्ने इच्छा त्यसैबेला जागिसकेको थियो।” 

उनी खुशी र आभार प्रकट गर्दै अगाडि थप्छन् –“त्यहाँका एजुकेटिभ म्यानेजर वाशुदेव ढकाल, जसले मलाई यो कामाका लागि प्रेरणा र हौसला दिनुभयो। उहाँ आफू पनि ड्रयागन फ्रुट बेच्नुहुन्थ्यो, त्यसैले उहाँको आफ्नो राम्रो अनुभवले गर्दा पनि हुनसक्छ मलाई सुदूरपश्चिममा पनि यो फ्रूटले राम्रो बजार पाउने र राम्रो उत्पादन हुनसक्ने भन्दै सल्लाह र हौसला दिनुभयो ।”

आफूहरुले भर्खरै मात्र (मंसिर महिनाबाट) सुरु गरेकोले अलि नयाँ भएर वा धेरै ठाउँका धेरै मानिसलाई जानकारी नभएर पनि सोचे जस्तो बिक्री गर्न नसकिएको हुनसक्ने उनीहरु बताउँछन्। यद्यपी अब भने केही ठाउँहरुबाट अर्डर आउन सुरु भइसकेको उनीहरुको भनाइ छ। 

गर्मी बढ्दै जाँदा बिरुवा सप्रिँदै जाने बताउँदै सरिता उत्साहित हुँदै भन्छिन् –“अहिले डडेल्धुराबाट पनि बिरुवाको माग भइ आएको छ। अब त धेरै ठाउँबाट माग आउन थालिसकेको छ। ड्रयागन फ्रुट भारतबाट ल्याएर नेपालमा बिक्री भइरहेको हुन्छ, त्यसको साटो हामी आफै यो काम सुरु गरौँ न, हामी बरु भारत, चीनतिर निर्यात गरौँ ।” 

अझ एक हप्ताभित्र ३ हजार बिरुवा आइरहेको उनी बताउँछिन् । खेतबारीमा मात्र नभई गमलामा पनि रोप्न र फलाउने सकिने भएकाले सबैले सहजै रोपेर खान, बेच्न सकिने उनी बताउँछिन् । प्रचार प्रसारका साथै ड्रयागन फ्रुटको व्यावसायिक खेती गरि आर्थिक उपार्जन गर्न सकिनेबारे विस्तारै सबैले बुझ्दै जाने विश्वास बोकेर आफुहरु यसप्रति आकर्षित भएको उनीहरुको भनाइ छ ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस