सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका बिमितले कोरोना बीमा रकम पाएनन्

२०७७ माघ ५, ०९:०७ कमल सावद

धनगढीः दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ खलंगाका दीपक अवस्थीलाई गत असोज १४ गते कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

नेपाल रेडक्रस सोसाइटी दार्चुलाका मन्त्री समेत रहेका अवस्थी ८ दिन होम आइसोलेसनमा बसे। स्वास्थ्यमा समस्या देखिएपछि २४ गते मात्र सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना भए। उपचारमा ठूलो रकम खर्च भयो उनको। तर कोरोना बीमा गरेका अवस्थीले हालसम्म बीमा बाफतको रकम भने पाउन नसकेका हुन्। अवस्थीले कहिले के बहाना त केहिले बहानामा हालसम्म भुक्तानी दाबी गरेपनि रकम भुक्तानी नदिएको गुनासो गरेका छन्।

कैलालीबाट एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार विवेक नागरीले पनि कोरोना बीमा गराएका थिए। उनी कार्यरत सञ्चार गृहले उनको बीमा गराएको थियो। उनलाई गत कार्तिक पहिलो साता कोरोना पुष्टी भएको हो। तर बीमा रकम भुक्तानी दाबी गरेपनि रकम भने अझै पाउन नसकेको नागरी बनाउँछन्।

धनगढीको डेलिमेल एफएममा कार्यरत पत्रकार पुष्कर पौडेलले पनि कोरोना बीमा बाफतको रकम पाउँन बाँकी रहेको छ। असोज २६ गते स्वाब दिएका पौडेललाई असोज ३० कोरोना संक्रमण पुष्टी भएको थियो। उनले पनि बीमा रकम नपाएको बताएका छन्।

अवस्थी, नागरी र पौडेलले मात्रै होइन, सुदूरपश्चिमबाट कोरोना बीमा गरेका अधिकांशले रकम नपाएको गुनासो गरेका छन्। तर प्रदेशबाट बीमा गरेका बिमितहरुको संख्या तथा बीमाको रकम दाबी गर्नेहरुको तथ्याँक भने बीमा समिति सँग छैन्।

बीमा समितिले नेपालमा १७ लाख बढीले कोरोना बीमा गरेको र ५० हजारले कोरोना बीमा गरेको दाबी गरेको बताएको छ। तर २५ हजारले रकम पाउँन बाँकी रहेको छ। बीमाको रकम दाबी गर्ने बिमितहरुको संख्या धेरै भएकाले रकम भुक्तानीका लागि समय लागेको समितिको जिकिर छ। समितिका सूचना अधिकारी निर्मल अधिकारीले ढिलाइ भएपनि क्रमिक रुपमा भुक्तानी गर्ने बताए।

समितिका अनुसार २० वटा बीमा कम्पनीले मात्र कोरोना बीमा गर्दै आएका छन्। १ लाखको बीमा गरेकाले १ लाख र ५० हजारको बीमा गरेकाले ५० हजार कोरोना संक्रमण पुष्टि भएपछि रकम पाउने समितिले जनाएको छ। तर कोरोना संक्रमण पुष्टि भएको प्रमाणित गर्ने कागजपत्रहरुको अध्ययनमा बढी समय खर्च हुँदै आएको समितिको भनाइ छ।

तर भदौ २८ गतेपछि कोरोना बीमा गरेका बिमितहरुले भने २५ हजार कोरोना पुष्टि भए लगतै र ७५ हजार अस्पतालको बिलको आधारमा भुक्तानी दिने समितिले जनाएको छ।

बीमा कम्पनीहरुले रकम दाबी बिमितहरुको कागजपत्र समिति हुँदै स्वास्थ्य मन्त्रालयमा पेश गर्दैआएका छन्। तर असोज र कार्तिकपछि बीमा रकम दाबी गर्नेहरुको संख्या धेरै भएकाले भुक्तानीमा बढी समय लागेको बताइएको छ। 

कानूनी प्रक्रिया पुरा गरेका बिमितहरुले बीमा बाफतको रकम भुक्तानी पाउने समितिले जनाएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस