सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार

२०७७ माघ २, ०७:१६ रासस

बाजुराः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरेको छ।

यसक्रममा प्रतिष्ठानले बाजुराको बूढीनन्दा नगरपालिकाद्वारा सञ्चालित कोल्टी स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने छ। यससम्बन्धी द्विपक्षीय सम्झौतामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज बाग्ले र नगरप्रमुख पद्मकुमार गिरीले आज कोल्टीमा हस्ताक्षर गरे।

प्रतिष्ठानको ऐनअनुसार आफ्नो सेवा क्षेत्रका जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्न विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए। उनका अनुसार सो सम्झौता सो १० शय्याको स्वास्थ्य चौकीका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा प्रतिष्ठानले उपलब्ध गराउने छ।

हुम्ला र मुगु जिल्लाका बिरामीसमेत आउने सो स्वास्थ्य चौकीमा आवश्यक चिकित्सक नहुँदा वर्षौदेखि सेवाग्राही समस्यामा रहेका थिए। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. वाग्लेले कर्णाली प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउनु प्रतिष्ठानको मुख्य ध्येय रहेको बताए। उनले भने, "प्रतिष्ठानले एमबीबीएस तहको अध्ययन अध्यापन गराउन अन्तिम तयारी गर्दैछ। यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ।"

नगरप्रमुख गिरीले प्रतिष्ठानले नगरपालिकामा सेवा विस्तार गरेकोमा धन्यवाद दिए। कार्यक्रममा प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँ, प्रा.डा. दिनेश बास्तोला, डा. सूर्यमान लिम्बू र डा. निराजन महासेठको पनि सहभागिता थियो।

कमेन्ट लोड गर्नुस