सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्तला सुरक्षित गर्न सेलार स्टोर

२०७७ माघ २, ०८:२१ रासस

जाजरकोट : कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । 

उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो । 

सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर वलीले बताए । सुन्तला टिपेर लामो समयसम्म सुरक्षित गर्न सकिने भएकाले सेलारमार्फत स्टोर गरी कृषकको अर्थोपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ ।

परियोजनाको १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ ।

उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए । अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ ।

कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका सुन्तला व्यवसायीले बताएका छन् । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याक निर्माण गरिएका छन् ।

भवनमा कृषकको मात्र सुन्तला भण्डारण गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ । यसभन्दा अघि साना अर्थात खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत सुरु भइसकेको छ । आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सबै पालिकामा सुन्तलाको जुस बनाउने काम सुरु गर्न लागेको परियोजनाको भनाइ छ ।

कमेन्ट लोड गर्नुस