सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सामान्य पूजापाठ गरेर सकियो यस वर्षको माघी

२०७७ माघ १, ०६:०८ खबर संवाददाता

धनगढी: कोरोना माहामारीका कारण बैतडीमा सामान्य पूजापाठ गरेर माघी पर्व सम्पन्न भएको छ। हरेक वर्ष मेला लाग्ने बैतडीका विभिन्न धार्मीक स्थलहरुमा सामान्य पुजापाठ गरि माघी पर्व मनाइएको हो।

जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका ४ धार्मीक स्थलहरुमा मकर संक्रान्तिको दिन मेला लाग्ने गर्दछ। गाउँपालिकाको नेपाल–भारत सीमानाका पञ्चेश्वर(ड्याम साइड) रोल घाट र सिमानाका हल्दु विनायक घाटमा मकर संक्रान्तिको दिन मेला लाग्ने गर्दछ।

यस्तै शिवनाथ गाउँपालिकाको नेपाल–भारत सीमानाका कुस्माउत घाट र डिम्मर घाटमा हरेक वर्ष मेला लाग्ने गर्दछ। सो ठाउँमा जिल्लाबाहिरका तथा दुवै देशका भक्तालुहरुको घुँइचो लाग्ने गरेकोमा यस वर्ष भने कोरोना माहामारीका कारण भक्तालुहरुको खासै उपस्थिती थिएन। 

विगतका वर्षमा दुवै देशका भक्तालुहरुले एउटै ठाउँमा पुजापाठ गर्दै आएका थिए भने यस वर्ष कोरोनाका कारण आ–आफ्नै क्षेत्रतिरको नदी किनारमा सामान्य पुजापाठ गरिएको पञ्चेश्वर गाउँपालिका १ का नरेन्द्र सिंह साउँदले बताए। 

पहाडी जिल्लाहरुमा बिहानै छोरीचेलीहरुको हातबाट कागलाई सेल, माडा लगायतका मिठामिठा परिकार दिने चलन रहेको छ। भने बिहानै नदी किनार गइ स्नान गरेर पुजापाठ गर्ने चलन रहेको छ। 

बैतडीमा माघको महिनालाई धार्मीक महिनाको रुपमा मान्ने गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस