सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते हस्ताक्षर गरी उपभोक्ताको रकम हिनामिना

कामदारलाई दिने रकम कुम्ल्याईयो 

२०७५ भदौ १९, ०३:२९

सिँचाई कुलो निर्माण समितिका सचिवले किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ । बडिमालिका नगरपालिका–३ रजालीमा निर्माण गरिएको काफल खोला सिँचाई योजना निर्माण समितिका सचिव नरबहादुर रावलले अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर आफैले गरी रकम झिकेर हिनामिना गरेको खुलासा भएको हो ।

अन्तिम किस्ता वापतको रकम निकासाका लागि समितिका अध्यक्ष झुपे खड्का र कोषाध्यक्ष फुँगी चदारा बैंक पुगेपछि रकम झिकेर हिनामिना गरेको खुलेको हो । समितिले भदौ ६ गते मात्र रकम हिनामिना भएको जानकारी पाएको थियो । चेक र निर्णय पुस्तिका आफैले राखेका नरबहादुर रावलले विभिन्न मितिमा ८ पटक किर्ते हस्ताक्षर गरि ६ लाख ९२ हजार रुपैया रकम झिकेको देखिएको छ । २३ लाख गरिबी निवारण कोष र २ लाख साविक जुगाडा गाविसको गरी ५ लाखको लागतमा सिँचाई कुलो निर्माण गरिएको छ । २ लाख गाविस र ९ लाख ६० हजार गिफ्ट बाजुरा गरिबी निवारण कोषको रकम सामुहीक रुपमा झिकेर काममा लगानी गरिएको पाईएपनि अन्तिम किस्ता बाहेक खातामा राखिएको रकम किर्ते गरेको अध्यक्ष झुपे खड्काले बताए । 

सिँचाई कुलो निर्माणका लागि २०७३ जेष्ठ देखि २०७४ जेष्ठ २८ गतेसम्म सम्झौता गरिएको छ । गरिबी निवारण कोषको रकम निकासामा ढिलाई हुँदा भुक्तानी प्रक्रिया एक वर्ष लम्बिएको समितिले बताएको छ । निर्माणमा प्रयोग गरिएका सामाग्री र सिमेन्ट सरिया सहितको रकम निकासा भएपनि कामदारको रकम सचिवले किर्ते गरि कुम्ल्याएका छन् । काम गरेको एक वर्ष ढिलो गरि रकम पाउने आश गरेपनि ठीक उल्टो सचिवले रकम थाहै नदिई हिनामिना गरेको प्रति स्थानीय आक्रोसित बनेका छन् । समितिलाई थाहै नदिई रकम हिनामिना गरेपछि उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । सिँचाई कुलो स्थानीय २ सय ३० परिवारलाई लक्षित गरी निर्माण गरिएको छ । 

सचिव नरबहादुर रावलका नाममा किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको भन्दै उजुरी दिएको अध्यक्ष झुपे खड्काले बताए । यता प्रहरी नायव उपरीक्षक सागर बोहराले पनि उजुरी दिएको र त्यस बारे सरकारी वकिल कार्यालयमा कानुनी परामर्श लिन काम भईरहेका बताए । सचिव नरबहादुर रावलको फोन भने अफ गरिएको छ । रावलले चलाउँदै आएको मोबाइल नम्बर ९७४९०१३३८८ अफ गरिएको छ । स्थानीयले आफूले पाउने रकम एक्लैलै झ्वाम पारेकोमा आक्रोसित बनेका छन् । रावललाई किर्ते गरेको प्रमाणका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । 

कमेन्ट लोड गर्नुस