सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु फिल्म जगतका उदयमान नायक ‘वीर’, भन्छन्, ‘नयाँ प्रविधि र व्यावसायिक योजनाको विकल्प छैन’

२०७७ पुष २८, ०९:३६ लखन चौधरी

धनगढीः पछिल्लो समय अधिकांश थारु म्युजिक भिडियोहरुमा दोहोरिने अनुहार हो, वीर चौधरी। 

साँस्कृतिक होस् या आधुनिक, उनी दोहोरिने मध्येमा पर्छन्। यसको पछाडि उनको चक्लेटी स्वाभाव, आकर्षक जिउडाल र अभिनय कला नै हो। उनी आमदर्शकमाझ रुचाइएका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका २ बौनियाका ३० वर्षीय वीरको उसो त मोडलिङ क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन। उनी आफै जम्माजम्मी ५ वर्ष भएको बताउँछन्। तर उनी हाल थारु सा‌ंगीतिक क्षेत्रमा दरिलो पकड बनाउन सफल भएका हुन्।

उनी भन्छन्, “बाल्य कालदेखि नाच्ने, गाउनेलगायत मनोञ्जनात्मक गतिविधिमा रुची राख्थे। त्यही रुची र शौख पूरा गर्न यो क्षेत्रमा प्रवेश गरियो। अब यसै क्षेत्रलाई नै पेशा बनाएको छु।”

उनले आफ्नो अभिनय यात्राको सुरुवात थारु भाषाको ‘कबु लचकके कबु मचके’ भन्ने म्युजिक भिडियोबाट गरेका हुन्। नृत्य निर्देशक सुधराम दहितको निर्देशनमा रहेको सो म्युजिक भिडियोबाट दर्शकको राम्रो वाहवाही पाएपछि उनीमा अभिनयप्रतिको हुटहुटी झनै बढेको हो।

उनी ५ वर्षको अवधीमा करिब १ सय बढी थारु, नेपाली र भोजपुरी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेको बताउँछन्।

आफैले अभिनय गरेको सबैभन्दा मन पर्ने म्युजिक भिडियो कुन हो भन्ने जिज्ञासामा उनी भन्छन्, “आनन्द कठरिया र मनिषा पोखेरको स्वरमा रहेको ‘बर्सा देहो प्यार टु’ सबैभन्दा राम्रो लाग्छ।’ जसमा सुधराम दहितको निर्देशन, सुवेश कठरियाको शब्द र गणेश चौधरीको सम्पादनमा रहेको छ।”

थारु समुदायको माघी पर्व नजिकिँदै गर्दा आजभोलि उनी माघी सम्बन्धी गीतको छायांकनमा व्यस्त छन्। केही माघी सम्बन्धी म्युजिक भिडियो त सार्वजनिक समेत भएको छ।

म्युजिक भिडियोबाट फिल्मतिर
एकताका थारु फिल्म क्षेत्रले राम्रो गति लिएको थियो। तर फिल्ममा गरिएको लगानी नउठेपछि थारु फिल्म क्षेत्र नै खस्कियो। पछिल्लो समय म्युजिक भिडियो सँगै पुनः फिल्म क्षेत्रमाथि उठ्न थालेको हो।

म्युजिक भिडियोमा मात्रै केन्द्रित वीर पनि आफ्नो अभिनयको दायरालाई फराकिलो बनाउँदै गएका छन्। थारु भाषाकै ‘बीरा’ फिल्म छायांकनको तयारीमा रहेको उनी बताउँछन्। सो फिल्ममा आफ्नो मुख्य भूमिका रहेको बताउँदै उनले माघी पर्व लगत्तै छायांकन सुरु गरिने र बैशाखमा प्रदर्शन हुने सुनाउँछन्।

‘पहिले शौख पूरा गर्नकै लागि काम गरियो। अब चाहीँ कला संस्कृतिको संरक्षण र समाजमा सकात्मक सन्देश दिने उदेश्यले काम गर्नुपर्छ भन्ने लागेको छ। अब त आफ्नो मोडलिङ नै प्रमुख पेशा भइसक्यो।’

पछिल्लो समय बजार आउने विभिन्न अश्लील तथा दोहोरो अर्थ लाग्ने म्युजिक भिडियोले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दै आएको छ। जसप्रति आफुहरु सचेत रहेको उनको भनाइ छ।

घाटामा म्युजिक भिडियोको व्यापार
मोडल वीरले थारु भाषाका हजारौं म्युजिक भिडियो आएपनि हालसम्म त्यसमा गरिएको लगानी घाटामा रहेको बताउँछन्।

तपाईको पारिश्रमिक कति हो ? भन्ने जिज्ञासा वीर अगाडि थप्छन्, ‘हालसम्म मैले प्रति म्युजिक भिडियोमा अभिनय गरेबाफत १२ हजारदेखि १५ हजारसम्म पारिश्रमिक लिएको छु। बढीमा २ दिनमा १ म्युजिक भिडियो तयार गर्न सकिन्छ।’

तर लगानीकर्ताको लगानी नउठ्दा दुःख लाग्ने गरेको उनको अनुभूति छ। अब भने व्यावसायिक योजनाका साथ काम थालेको उनी सुनाउँछन्।

व्यावसायिक उदेश्यका साथ आउँदो फिल्ममा काम गरिरहेको समेत वीरले बताउँछन्।

उनले भने, “अब हामी ‘क्यास ब्याक’ आउने योजनाका साथ काम गर्दैछौ। शत प्रतिशत लगानी फिर्ता हुुने गरि अनलाइन सफ्वयर बनाएका छौ। एम फिलिक्स हब डटकम भन्ने अनलाइन प्रविधिलाई प्रयोग गरेर व्यावसायिक योजना बनाएका छौ। बीरा फिल्मलाई त्यसै सफ्वयरमार्फत लन्च गर्ने हाम्रो योजना छ।”

‘पर्दाको कमेस्ट्रीले पहिले गाह्रो हुन्थ्यो’
अभिनयको सुरुवाती अवस्था अप्ठेरो भएपनि हाल भने काम गर्नमा निकै सहज र रमाइलो हुने गरेको छ उनलाई। पहिले–पहिले पर्दामा हिरोइन्सँग देखिने दृष्यले परिवार र समाजमा असहज हुने गरेको वीरको भनाइ छ। तर हाल घर परिवारको राम्रो साथ पाएको बताउँछन्।

‘यो एउटा यस्तो क्षेत्र हो, जबसम्म को–एक्टरसँग कमेस्ट्री मिल्दैन, तबसम्म राम्रो उत्पादन भएको मानिन्न। पर्दामा हामीले वास्ताविकता यही नै हो जस्तो देखाउँनै पर्छ। यही नै कला हो। रिलमा जस्तो लाइफ हुँदैन नि !’
आफ्नो अभिनय कलाले दर्शकमाफ रुचाइएका उनी हालसम्म बिन्दास म्युजिक अवार्ड २०७५ र नेश्नल म्युजिक अवार्ड २०७७ बाट सम्मानित भएका छन्।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस