सुदूर नेपाललाई विश्वसँग जोड्दै

अम्बा र ड्रागन फ्रुटको व्यावसायिक खेती

२०७७ पुष २७, ०६:१९ रासस

झिमरुक : प्यूठानमा व्यावसायिक रुपमा अम्बा  र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका– २ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि  खेती सुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका हुन् । 

दर्भानसँगै राप्ती गाउँपालिका– २ बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिए । ती दुवै ठाउँमा गरी एक हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ ।  तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ । 

विभिन्न क्षेत्रमा भारत तथा चीनबाट अम्बा खरीद हुँदै आएकाले छिमेकी जिल्लामा समेत खपत हुने विश्वासले  खेती गरेको सञ्चालक कृषक गुरुङले जानकारी दिए । एक वर्षका अवधिमा दुई चरणमा अम्बा फलेको उनको भनाइ छ । दुई चरणमा प्यूठान र दाङमा गरी १५ क्विन्टल अम्बा बिक्री गरेको र तेस्रो चरणको अम्बा फल्दै गरेको उनले बताए । प्रतिकेजी १०० रुपैयाँका दरले जिल्लासँगै बुटवलमा पनि अम्बा बिक्री गरिएको उनको भनाइ छ । 

अन्य खेतीको तुलनामा अम्बा खेती गर्न सजिलो छ । वर्षमा एकपटक मात्र मलजल गरे अम्बाखेती राम्रो हुने उनले जानकारी दिए । त्यस्तै ड्रागन फ्रुटको पनि पहिलो उत्पादन बिक्री गरिएको छ । विसं २०७७ साउनदेखि कात्तिकको अवधिमा एक क्विन्टल ड्रागन फ्रुट बिक्री गरिएको सञ्चालक गुरुङको भनाइ छ । भारतको गुजरातबाट बिरुवा खरीद गरी फ्रुटको खेती गरिएको हो । पहिलो वर्ष केही कममात्रामा फल दिए पनि अबका वर्षमा यसले राम्रो फल दिने सञ्चालकको विश्वास छ । 

फार्ममा रातो र सेतो गरी दुई थरीको ड्रागन फु्रट उत्पादन भएको छ । रातोलाई प्रतिकेजी ८०० र सेतोलाई प्रतिकेजी ७०० रुपैयाँमा बिक्री हुने गरेको छ । उत्पादित पु्रmट जिल्लासँगै बुटवल र काठमाडौँमा पनि खपत हुने गरेको छ । खेती कम हने गरेकाले बिक्रीवितरण सहजरुपमा हुने गरेको छ । करीब २५ लाखको लगानीमा खेती गरिएको हो । वार्षिक एक लाख भाडा तिर्ने गरी प्यूठानमा १६ रोपनी र दाङमा १० कठ्ठा जमीन भाडामा लिई उक्त खेती गरिएको हो । 

ड्रागन फ्रुट र अम्बासँगै चार रोपनी क्षेत्रफलमा एप्पलवेयर र ४०० बिरुवा स्ट्रबेरीको पनि खेती गरिएको सञ्चालक उनले बताए । उमेरले ६२ वर्ष पुगेका गुरुङको राजनीतिक आवद्धता समेत रहेको छ। सानैदेखि  खेती गर्दै आएका उनले कम्युनिष्ट पार्टीले लिएको नारालाई सार्थक बनाउन राजनीतिसँगै कृषि पेशामा लागेको बताए । 

“भाषणमा कृषि क्रान्तिका नारा लगायौँ, व्यवहारतः खासै कृषि क्रान्ति भएन”, उनले भने, “व्यवहारत कृषि क्रान्तिका लागि हामीले खेती गरेका हौँ ।”अम्बा र ड्रागनको बिरुवा उत्पादन गर्ने र आफ्नो खेतीबाट सबै किसानलाई जोड्ने योजनासमेत बनाएको उनको भनाइ छ ।

कमेन्ट लोड गर्नुस