धनगढीमा प्रधानमन्त्रीले ‘झुट’ बोले, गेटा मेडिकल कलेजलाई ‘मेडिकल विश्वविद्यालय’को प्रारुपमा लैजाने छैन कुनै तयारी
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले पुुस २४ गते नेकपा सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको जनसभामा गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन प्रक्रिया थाले भन्दै भाषण गरे।
तर प्रधानमन्त्री ओलीको भनाइ अनुसार गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा लैजानेबारे तत्काल कुनै प्रक्रियामा नगएको पाइएको छ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदका अनुसार प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाट विद्येयक पास भएर मात्र कुन प्रारुपमा जानेबारे टुंगो लाग्ने बताए । तर प्रतिनिधि सभा विघटन भएपछि अन्योलता भएको छ।
मेडिकल कलेजको प्रारुपको टुंगो नलाग्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि अन्य सबै प्रक्रिया ठप्प भएका छन्।
लामो कुन प्रारुपमा सञ्चालन गर्नेबारे अन्योल रहेकै बेला हालै धनगढीमा आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मेडिकल विश्वविद्यालय बनाउन प्रक्रिया थालिएको दाबी गरे। तर प्रधानमन्त्रीको भनाइअनुसार कुनै पनि प्रक्रिया नथालिएको हो।
यसबारे सरकारी अधिकारी नै बेखबर देखिएका छन्। समितिका कार्यकारी निर्देशक साउँदे भने, “हामीले पनि प्रधानमन्त्रीले धनगढीमा आएर मेडिकल विश्वविद्यालय बनाउने बताएको जानकारी पायौ। तर अन्य प्रक्रिया अगाडि बढेको जानकारी छैन्। हामीले निर्माणको काम हेर्ने हो। विश्व विद्यालय लगायतको प्रारुपको कामका लागि समिति छ। उहाँहरुलाई बढी जानकारी होला।”
२०७३ सालदेखि मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम थालिएकोमा झण्डै ८० प्रतिशत कामख सम्पन्न भएको छ। गेटालाई कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने चर्चा भनेर चर्चा हुँदै आएको छ।
तर पछिल्ला पटक प्रधानमन्त्री ओलीले भने मेडिकल विश्वविद्यालय बनाउने भनेर भन्दै हिडेका छन्।
प्रधानमन्त्रीकै घोषणापछि मेडिकल विश्वविद्यालयका आवश्यक प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ। गेटालाई मेडिकल कलेजका रुपमा सञ्चालन गरि विश्वविद्यालय बनाउन सकिने बताउन थालिएको छ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले प्रधानमन्त्रीले नै भनिसकेकोले प्रक्रिया थाल्ने विश्वास व्यक्त गरे।
उनले भने, “अहिले सम्म भएको छैन्। तर प्रधानमन्त्रीले मेडिकल विश्वविद्यालय बनाउने भन्नु भयो। हामीलाइ जानकारी छैन्। तर प्रधानमन्त्रीले पनि भन्नु भयो। प्रदेशका मन्त्रीहरु, संघका मान्य र प्रदेशका मान्यहरुको पनि विश्व विद्यालय बनाउनुपर्ने धारणा छ।”
२०५५ सालदेखि चर्चामा रहेको गेटा मेडिकल कलेज २०६६ सालमा मात्र घोषणा भएको थियो। चिकित्सा शिक्षाका अभियानकर्ता डाक्टर गोविन्द केसीसँग भएका सम्झौतामा गेटामा २०८० सालभित्र एमबीबीएस अध्यापन गराउने उल्लेख गरेको थियो। तर प्रारुपबारे टुंगो नलाग्दा अन्योलता कायमै छ।