सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

२०७७ पुष २७, १२:४१ रासस

वाग्मती : नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ ।

वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । 

त्यस्तै उक्त गाउँपालिकाको ४० लाखको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उनले बताए । त्यहाँ पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ । यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । 

गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम सुरु भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उनले बताए । साथै त्यहाँ रोजगारीसमेत बढ्ने विश्वास लिइएको छ ।

कमेन्ट लोड गर्नुस