सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सुरक्षा व्यवस्था कडा, झण्डै डेढ हजार सुरक्षाकर्मी परिचालन

२०७७ पुष २४, ०६:३८ रोशन भट्ट

धनगढीः नेकपा सुदूरपश्चिमले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको बताएका छन्।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले बताए। 

उनले संयुक्त सुरक्षा व्यवस्था समेत मिलाइएको जनाए। सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ। 

नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत विहिबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रम स्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन हुनेछन्। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले विशिष्ट व्यक्तिको सुरक्षा रणनीतिअनुसार थप सशस्त्र प्रहरी परिचालन गरिएको बताए। 

बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जिल्ला सुरक्षा समितिको बैठक बोलाउँदै आवश्यक रणनीति बनाउन नर्देशन समेत दिएका थिए। 

सुरक्षा समितिले जनपथ, सशस्त्र, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी सबै सुरक्षा अंगलाई उच्च सर्तकता अपनाउन मातहतका युनिटलाई निर्देशन दिने निर्णय समेत गरेको छ। 

समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कैलालीमा झण्डै डेढ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् भने सादा पोशाखमा झण्डै २ सयजना सुरक्षाकर्मी खटाइनेछन्।

जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन पाईने छैन।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस