कैलाली वन्यजन्तु र वन पैदावर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिका–५ का ५८ वर्षीय नैनबहादुर कठरिया सोमबार एक सय ७१ ग्राम ९ सय ६० मिलिग्रामको गैँडाको खागसहित पक्राउ परे।
पूर्व–पश्चिम राजर्मागमा पर्ने सामूदायिक वन क्षेत्रबाट संघीय प्रहरी इकाइको कार्यालयबाट गएको प्रहरी र इलाका प्रहरी कार्यालय सुखडको संयूक्त समूहले उनलाई पक्राउ गरेर सव–डिभिजन वन कार्यालय साँडेपानी बुझाएको थियो।
तर सो मुद्दा अहिलेसम्म दर्ता भएको छैन्। वन्यजन्तु चोरी सिकारीका मुद्दा दर्ताको प्रक्रिया थालिएको र थप अनुसन्धान जारी हरेको वन अधिकारीहरुले बताएका छन्।
पछिल्लो घटना प्रतिनिधिमुलक उदाहरण भएपनि कैलालीमा गत ३ वर्षमा वन पैदावर, अतिक्रमण तथा वन्यजन्तु चोरी सिकारीका सयौं घटना सार्वजनिक भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए।
उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा २३, २०७६÷०७७ मा २५ र चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र १२ मुद्दा वन तथा वन्यजन्तु चोरी तस्करीका दर्ता भएका छन्। गत आर्थिक वर्षमा ६७ जना विरुद्ध मुद्दा दर्ता भएका छन्।
२०७५ कार्तिक १५ गते स्थापना भएको डिभिजन वन कार्यालय पहलमानपुरमा ५६ वन पैदावार र १ अतिक्रमणको मुद्दा दर्ता भएको छ। एक सय ५० जना प्रतिवादी रहेका डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्णराज भट्टले बताए।
वन पैदावार ओसार–पसार, वन्यजन्तु चोरी–सिकारी र वन अतिक्रमणका मुद्दाको संख्या बृद्धि हुँदै गएको वन कार्यालयको तथ्यांक छ। वन पैदावर ओसार–पसारमा सरकारले रोक लगाएकाले चोरी–तस्करी तथा सिकारीका मुद्दाको संख्यामा बृद्धि हुँदै गएको हो।
तर कर्मचारीको अभावका कारण वन मुद्दाको फैसलामा भने ढिलाइ हुँदैगएको वन अधिकारीहरुले बताएका छन्।
‘कैलालीसँग भारतपनि जोडिएको छ। वन्जजन्तुको तस्करी भारतमा हुँदै आएको भेटिएको छ। यस्तै चीनसमेत लगिएको पाइएको छ’ डिभिजन वन कार्यालय धनगढीका प्रमुख कडेलले भने, ‘यसकारण तस्करीमा कैलालीलाई ट्रान्जिट प्वाइन्ट बनाएको देखिन्छ।’