सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षा भएसँगै डोटीमा चिसो बढ्यो

२०७७ पुष २२, ०६:०५ रासस

डोटी : मङ्गलबारदेखि लगातार परेको वर्षासँगै डोटीमा चिसो बढेको छ ।

चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ । चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललित लिम्बुले जानकारी दिए । 

उनका अनुसार चिसोका कारण जिल्ला अस्पतालमा २० तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएका छन् । जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् । 

वर्षात्का कारण जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस