सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले तटबन्ध बनाएको ठाउँ हेर्न उच्चस्तरीय टोली दार्चुला आउँदै

तस्बिर : कान्तिपुर दैनिक
तस्बिर : कान्तिपुर दैनिक
२०७७ पुष २२, ०८:२६ खबर संवाददाता

काठमाडौँः अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र सहमतिविपरीत भारतले दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५, गल्फैरभौरादगढस्थित महाकाली नदीको धार परिवर्तन गरेर निर्माण गरिरहेको तटबन्धको स्थलगत अध्ययन गर्न सरकारले उच्चस्तरीय टोली पठाउने भएको छ।

गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित नापी विभागले सीमासम्बन्धी तथ्य, प्रमाण र विगतका सहमतिअनुसार तटबन्ध बनेरनबनेको सम्बन्धमा स्थलगत अध्ययनमा टोली पठाउन लागेको हो। प्राविधिकसहितको टोली खटाएर प्रतिवेदन पेस गर्न परराष्ट्र मन्त्रालयले भूमि व्यवस्था मन्त्रालयलाई पत्र पठाएको थियो।

२०७० असार २ मा महाकाली नदीमा आएको बाढीअघिको नेपाली भूमिमा भारतले तटबन्ध बनाइरहेको र यसलाई रोक्न आवश्यक पहल गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई पुस २, ५ र सोमबार ९२० गते० तीन पटक पत्र पठाइसकेको छ। तत्काल तटबन्धको काम रोक्न आग्रह गर्दै परराष्ट्रले पनि दिल्लीस्थित नेपाली राजदूतावासमार्फत भारतको ध्यानाकर्षण गराएको थियो। तर भारतले यसमा कुनै जवाफ फर्काएको छैन।

गृहले तेस्रो पटक मंगलबार तटबन्धको काम रोक्न माग गर्दै भारतलाई कूटनीतिक पत्र पठाउन परराष्ट्रलाई पत्राचार गरेको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दार्चुला प्रशासनको सोमबारको पत्रका आधारमा मंगलबार परराष्ट्रलाई पत्राचार गर्दै तटबन्धको काम रोक्नेबारे भारतसँग पहल गर्न आग्रह गरिएको बताए। गृहको पत्रपछि केही दिनभित्रै परराष्ट्रले दिल्लीस्थित राजदूतावासमार्फत भारतलाई पत्र पठाउने तयारी गरेको छ।

भारतलाई गरिएको अघिल्लो पटकको पत्राचार अघि नै महाकाली नदी नियन्त्रण आयोजनाले पनि बाढी आउनुअघिको नेपाली भूमिमा भारतीय पक्षले तटबन्ध बनाएको भन्दै तत्काल रोक्ने गरी पहल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयमार्फत परराष्ट्रलाई भनेको थियो।

‘सीमा क्षेत्रमा संरचना बनाउँदा दुवै देशको सहमति र स्वीकृति आवश्यक छ । हामीले गम्भीर रूपमा लिएर तथ्यरप्रमाण के–के छन् भनेर स्थलगत अध्ययनका लागि गृह र परराष्ट्र मन्त्रालयका अधिकारीसहितको उच्चस्तरीय टोली खटाउन लगेका हौं,’ नापी विभाग स्रोतले भन्यो।

मंगलबार विभागले यसबारे सरकारसँग भएका तथ्य र प्रमाणसहित आन्तरिक छलफल गरेको थियो। त्यसपछि केही दिनभित्रै टोली फिल्डमा खटाउने निर्णय भएको स्रोतले जानकारी दियो। –यो समाचार कान्तिपुर दैनिकले लेखेको छ।

कमेन्ट लोड गर्नुस