सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीलाई बृद्धाको हत्यारासम्म पुगाउने त्यो ‘क्लू’

२०७७ पुष १९, ०१:२२ जनक विष्ट

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्का बस्ने ७१ वर्षीय बृद्धा खण्टी भुल पुष १२ गते विभत्स हत्या गरेको अवस्थामा फेला परिन्।

घरमा एक्लै बस्दै आएकी भुल हत्या गरेको अवस्थामा मृत भेटिएपनि उनले लगाएका सुनका गरगहना भेटिएनन्। 

प्रहरीले तत्कालै सुनका गरगहना लुटिएको आशंकासहित लुट्ने व्यक्तिले नै योजनाबद्ध रुपमा भुलको हत्या गरेको निकष्कर्ष निकाल्यो। सोही अनुसार प्रहरीले घटनाको अनुसन्धान थाल्यो।

जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै प्रहरी टोली अनुसन्धानमा खटिए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले १२ जनालाई सोधपुछका क्रममा नियन्त्रणमा लियो। 

बृद्धाको हत्या गरेको आशंकामा अनुसन्धान गदैै जादा पक्राउ परेका १२ जनामै थिए, कैलालीको मोहन्याल घर भई कञ्चनपुरको लालझाडी गाउँपालिका ६ बस्दै आएका ४९ वर्षीय दलबहादुर बिक।

बिकलाई प्रहरीले अनुसन्धानका क्रममा पुस १६ गते पक्राउ गरेको थियो। पक्राउ गरेपछि बिकको घर खानतलासी गर्ने क्रममा २ राउण्ड गोली फेला पर्यो। 

त्यतिबेलासम्म बिकले बृद्धाको हत्या गरेको आशंकालाई पुष्टि गर्ने कुनै प्रमाण फेला पार्न सकेको थिएन। प्रहरीले उनलाई हातहतियार खरखजना ऐनअनुसार मुद्दा चलाउने निष्कर्ष निकाल्यो। 

तर कञ्चनपुर प्रहरीको अर्को टोलीले पुनः बिक बस्ने घर खानतलासी गर्यो। सो क्रमले उनको कोठामा सुर्तिको प्याकेट र टर्च फेला परे।

जसलाई त्यसअघि देख्दा पनि खासै वास्ता गरिएको थिएन। पुस १८ गते त्यहाँ पुगेको प्रहरी टोलीले भने सुर्तिको प्याकेट भित्र बृद्धाले लगाउने सुनका मुन्द्रा फेला पार्यो। टर्च भित्र लुकाएको अवस्थामा तिलहरी भेटायो। 

त्यसपछि प्रहरीले घटनास्थलमै बिकले नै भुलको हत्या गरेको निष्कर्ष निकाल्यो। खानतलासीकै क्रममा बृद्धको हत्यामा प्रयोग भएको धारिलो हतियार बासुलो, चप्पल र कपडा समेत भेटाएको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा भन्छन्, ‘कानून अनुसार घर खानतलासी गर्दा भेटिएका दशी प्रमाणले घटनाको अनुसन्धानमा सजिलो भयो। अहिले पनि बिकमाथि अनुसन्धान जारी रहेकाले प्राविधिक कुराहरु खुलाउन मिल्दैन्।’

पूर्व माओवादी कार्यकर्ता समेत रहेका भनिएका बिकमाथि अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बिकले सम्पत्तीको लोभमा परेर बृद्धाको हत्या गरेको स्वीकारेको प्रहरी बताउँछ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस