सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ पानकोट पुल समयमा नबन्ने संकेत, काठे पुल बनाउन स्थानीय तहको प्रतिस्पर्धा

२०७७ पुष १९, ०७:०७ खबर संवाददाता

प्रताप ओली

बझाङ: बझाङको चैनपुरस्थित पानकोट सेती नदीमा निर्माणाधिन क्रस पुलका लागि ठूलो क्रेन ल्याउन असहज भएको कम्पनीले जनाएको छ।

पुल निर्माणको ठेक्का पाएको इलाइट कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि कपिल राइका अनुसार आगामी चैत महिनाभित्रै पुल बनाइसक्ने योजना भए पनि क्रेन ल्याउन नसक्दा ढिलाई हुने देखिएको हो।

कम्पनीले चितवनबाट क्रेन ल्याउन आफूहरु तयारी अवस्थामा बसेको तर जयपृथ्वी राजमार्ग साँघुरो भएकाले ल्याउन नसकिएको राइले बताए। 

युद्धस्तरमा निर्माण भइरहेको झण्डै ८ करोडको ठेक्का सम्झौता भएको पानकोट पुल फलाम र स्टिलबाट बन्ने छ। पुल निर्माणका आवश्यक सामग्री सबै आइपुगेको कम्पनीले जनाएको छ।

पुलका सामानहरु बाहिरबाट नै बनेर आएकाले उक्त पुलको नटबोल्ट कस्न दुई महिना लाग्ने छ। यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि बीचको पिल्लरका लागि खाल्डो खन्दा ढुङ्गा लागेको भन्दै काम रोकिएको थियो।

गत चैतमा इलाइट कन्ट्रक्सन प्रालिसँग झण्डै ८ करोडमा ठेक्का सम्झौता भएपछि क्रस ब्रिज बनाउने सहमति भएको थियो। सेती नदी पारि रहेका स्थानीय तहलाई जोड्ने गरी असार मसान्त २०७३ मा निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता पक्की पुल चार वर्षपछि बल्ल बन्ने आशा स्थानीयले गरेका छन्।

सेती नदी पारिका झण्डै आधा भू–भागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षौंअघि निर्माण सम्पन्न भएका सडकहरु पनि बेकामे भएका छन्। यसअघि ठेकेदार कम्पनी निलगिरी निर्माण सेवा र जागृती निर्माण सेवाले ६ करोड ७८ लाखको लागतमा संयुक्त रुपमा पुल निर्माणको जिम्मा पाएका थिए।

डिजाइन इस्टमेटमा त्रुटी भएका कारण पुल निर्माण हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । अहिले पुनः टेन्डर भई निर्माण कार्यले निरन्तरता पाएको हो। यो पुल बनेमा सेती नदीमा बनिरहेको पुल मध्ये पहिलो हुनेछ। 

पक्की पुल छोडेर काठे पुल बनाउन स्थानीय तहको प्रतिस्पर्धा
बझाङका स्थानीय तहहरुले प्रत्येक हिउँदमा सेती नदीमा अस्थायी पुल बनाउनका लागि प्रतिस्पर्धा नै गर्ने गरेका छन् । काठे पुलमा मंसिरदेखि वैशाखसम्म मात्र गाडी चल्ने गर्दछन्।

नदीमा पानीको बहाव अलिकति बढ्ने बित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ । सेती नदीका पारितिर रहेका थलारा, खप्तड छान्ना, जयपृथ्वी नगरपालिकाको साबिकको हेमन्तबाडा, लुयाटा र कैलासका साथै मष्टा र तल्कोट गाउँपालिकाका धेरैजसो सबै गाउँबस्तीमा सड्क सञ्जाल जोडिएको छ।

सेती नदीमा पक्की पुल नहुँदा यातायातका साधनहरु पारितिर जान सकेका छैनन् । हिउँदमा सेती नदीमा पानी घटेपछि केही महिनाका लागि काठेपुल राखेर यातायातका साधनहरुले ओहोरदोहोर गरे पनि जेठ महिनामा काठे पुल बगाएपछि यातायातका बन्द रहने गरेका छन्।

सेती नदीमा पक्की पुल नबन्दा त्याहाँका हजारौं जनताले कष्ट भोग्नु परेको छ। त्यस क्षेत्रका स्थानीलाई बिरामी ल्याउन, सामानहरु ढुवानी गर्न हिँडडुल गर्नसमेत समस्या भएको स्थानीय करन धामीले बताए। 

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग देउरा हुँदै चैनपुर जोडिए पनि सेती पारि पक्की पुल निर्माण नहुदाँ जिल्लाको एकतर्फ यातायात सञ्चालनमा छन् भने अर्कोतिर यातायातका साधन जान सकेका छैनन्।

अझैं बझाङका विभिन्न स्थानमा निर्माणाधीन चार पुल भने अलपत्र अवस्थामा छन्। सेती लोकमार्ग जोड्ने तमैल पुल, तल्कोट गाउँपालिका र मष्टा जोड्ने देवशैन पुल, झनाना पुल र रायलमा निर्माणाधीन पुल अझै अलपत्र अवस्थामा छन्।
 

कमेन्ट लोड गर्नुस