सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेक्वान्दोका अशोक उत्कृष्ट निर्णायक

२०७७ पुष १८, ०६:१४ रासस

काठमाडौँ : तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का उत्कृष्ट निर्णायक घोषित भएका छन् । 

टायरलेस हिरोज वेल्जियन कप, २०२० मा निर्णायकको भूमिका निर्वाह गरेका उनलाई आयोजकले उत्कृष्ट निर्णायक घोषित गरेको हो । बेल्जियम तेक्वान्दो महासङ्घको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट निर्णायक घोषित भएका हुन् । 

उक्त प्रतियोगितामा विभिन्न देशका १० निर्णायक सहभागी रहेका थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकतर्फ भएको प्रतिस्पर्धामा खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा ६६ देशका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एशियाली र विश्व च्याम्पियनसिपमा पदक विजेता खेलाडीले समेत सहभागिता जनाएका थिए । 

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक मात्र नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

कमेन्ट लोड गर्नुस