सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गरगहना लुटेर बृद्धाको हत्या गर्ने पूर्व माओवादी कार्यकर्ता पक्राउ

२०७७ पुष १७, ०४:०४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक पूर्व माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।

जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर बिकलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

उनी पूर्व माओवादी कार्यकर्ता भएको प्रहरी स्रोत बताउँछ। बिकले बृद्धाको हत्या गरि लुटेका गरगहना समेत बरामद गरिएको बताइएको छ भने केही राउण्ड गोली समेत बरामद गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाको अनुसन्धानको अन्तिमतिर पुगेको बताउँदै बिकलाई पक्राउ गरिएको कुरा आधिकारीक रुपमा पुष्टि गरेनन्। 

उनले घटनाको अनुसन्धान सकेर चाडै वास्तविकता सार्वजनिक गरिने बताए। गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। 

मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ । 

पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाएकी थिइन्। 

कमेन्ट लोड गर्नुस