सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीमा ‘लाइसेन्स’ को लागि फर्जी निरोगिता प्रमाणपत्रको खुलेआम किनबेच!

२०७७ पुष १७, ११:५७ नारायण अवस्थी

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले निरोगिताको फर्जी प्रमाणपत्रका भरमा सवारी चालक अनुमति पत्र थमाउने क्रम जारी राखेकाे छ। 

विगतमा पनि स्वास्थ्य परीक्षण बिना बनाइने फर्जी निरोगिता प्रमाणपत्रकै भरमा सवारी चालक अनुमति पत्र वितरण गरेको भन्दै सो कार्यालय आलोचित हुँदै आएको थियो। तर सुधार गर्नुको साटो अझै पनि सो कार्य जारी राखेको पाइएको हो।

अहिले ड्राइभिङ सेन्टर र इन्स्योरेन्स प्रतिनिधिले चिकित्सकको छाप र दस्तखत किर्ते गरी हातोहात निरोगिताको प्रमाणपत्र दिने गरेको पाइएको छ। 

यसरी शरीरिक रुपमा अयोग्य रहेकाहरुले समेत सवारी चालक अनुमति पाउँदा सडक असुरक्षा र दुर्घटना बढाउने चिन्ता गरिएको छ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ ले मानसिक रोग, छारे रोग, फोक्सो र मुटु सम्बन्धी रोग, आँखा सम्बन्धी समस्या, कान कम सुन्ने मानिसलाई सवारी चालक अनुमपति पत्र वितरण गर्न रोक लगाएको छ। 

तर कैलालीमा भने यातायात व्यवस्थापन कार्यविधि विपरित सवारी चालक अनुमति पत्र वितरण गर्दा मानिसको स्वास्थ्यबारे कुनै चासो नै नलिएर हचुवाको भरमा सवारी चालक अनुमति पत्र वितरण गर्ने काम भइरहेको बताउछन् धनगढी १४ फूलवारीका मदन जोशी।

उनले भने, ‘लाइसेन्सका लागि पुग्ने सेवाग्राहीलाई ड्राइभिङ सेन्टर र इन्स्योरेन्स प्रतिनिधिहरुले निरोगिताको फर्जी प्रमाणपत्र थमाउने गरेको र सो बापत मनलाग्दी रकम लिन्छन्।’

धनगढीको यातायात कार्यालय परिसरमा भेटिएका कञ्चनपुरको पुनर्वासका मित्रलाल तामाङले बाहिर रहेको गल्फ ड्राइभिङ सेन्टरबाट स्वास्थ्य परीक्षण नगरी निरोगिता प्रमाणपत्र लिएको खुलाए। 

गल्फ ड्राइभिङ सेन्टरमा पुग्दा उनी जस्तै अन्य सेवाग्राहीले पनि स्वास्थ्य परीक्षण बिना निरोगिताको प्रमाणपत्र खरिद गरिरहेको अवस्थामा भेटिए। 

तर त्यहाँ भेटिएका ड्राइभिङ सेन्टरका प्रतिनिधि उमा कार्कीले भने सँगै रहेको पसलबाट आफूले डाक्टर चन्द्रकान्त भट्टले प्रमाणित गरेको निरोगिताको प्रमाणपत्र मागेर  सेवाग्राहीलाई दिएको जिकिर गरिन्। 

यसरी स्वास्थ्य परीक्षण नै नगरी सेवाग्राहीले पेश गरेको निरोगिताको प्रमाणपत्रका आधारमा यातायता कार्यालयले सवारी चालक अनुमति पत्र वितरण गर्दै आएको छ। तर यो विषयमा यातायात व्यवस्था कार्यालयको दाबी भने भिन्न रहेको पाइन्छ।

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले भने, ‘सेवाग्राहीले निरोगिताको प्रमाणपत्र लिएर आउँछन् त्यसैको आधारमा लाइसेन्स दिने गरिएको छ। प्रमाणपत्रको आधिकारीकताबारे परीक्षण गर्ने संयन्त्र कार्यालयमा पनि छैन्।’  

तर यातायात कार्यालयले भने बिचौलियाहरुमार्फत फर्जी प्रमाणपत्रकै भरमा सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि सडक असुरक्षा मात्र नभएर अस्वस्थ्य मानिसले लाइसेन्स पाए स्वंयम ती व्यक्ति नै दुर्घटनाको जोखिममा पर्ने सम्भावना उत्तिकै बढी रहन्छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस