सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि ऋण सम्झौतामा हस्ताक्षर

। फोटो स्रोत ।
२०७७ पुष १५, ०७:०२ रासस

काठमाडौँ : नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका इञ्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन् । सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवम् वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रीडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवम् सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकामा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी चार अर्ब ५६ करोड (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र प्राधिकरणको स्रोतबाट व्यहोरिने छ ।  

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । सो आयोजनाको कार्यान्वयन गर्ने निकाय विद्युत् प्राधिकरण हो ।

कमेन्ट लोड गर्नुस