सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक प्याज खेती सुरु

२०७७ पुष १५, ०४:४३ रासस

झापा : पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती सुरु गरेका छन् ।

फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाईं मिलेर प्याज खेती सुरु गरेका हुन् । ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती सुरु गरेका छन् । 

“झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ”, केशव भूर्तेल भन्छन्, “यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिनपनि हामीले प्याजको खेती सुरु गरेका हौँ ।” उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुन् । कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताए । 

उनीहरुले सुरुमा २२ बिघाबाट सुरु गरेपनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने बताए । यतिबेला उनीहरुले प्याजको बेर्ना रोप्न सुरु गरेका छन् । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उनीहरुको योजना छ । यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो । 

स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताए । उनले प्याजको बेर्ना लगाउन सुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी दिएको बताए । उनीहरुले मल्सिङ प्रविधिबाट प्याज खेती सुरु गरेको जानकारी दिए । हाल ५० जनालाई रोजगारी प्रदान गरेपनि बेर्ना रोपिसकेपछि १० देखि १५ जना स्थानीयवासीलाई दैनिक रोजगारी दिइने उनको भनाइ छ । 

“हामी बिचलित हुँदैनौं”, उनले भने,“अरु खेतीभन्दा यसको खेतीमा लगानी पनि धेरै हुने र मेहनत पनि धेरै भएपनि बजारको भने समस्या हुँदैन ।” उनका अनुसार प्याज उत्पादन भइसक्दा प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म खर्च हुने अनुमान छ । कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताए । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उनको भनाइ छ ।

कमेन्ट लोड गर्नुस