सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ जना विरुद्व ठगी मुद्दा दिने बीओके धनगढीका पूर्व प्रबन्धक नै दोषी ठहर

२०७७ पुष १५, ०४:११ खबर संवाददाता

धनगढीः धनगढीका १४ जना विरुद्ध ठगी मुद्दा दायर गर्ने बैँक अफ काठमाण्डूका तत्कालीन प्रबन्धकलाई अदालतले दोषी ठहर गरेको छ।

जिल्ला अदालत कैलालीले बैँक अफ काठमाण्डूका तत्कालीन प्रबन्धक दीपक खनालले २०७५ सालको भदौँमा धनगढीकै १४ जना विरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते र ठगी मुद्दामा दोषी ठहर गरेको हो। 

अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले मंगलबार जिल्ला अदालतका न्यायाधिश बाबुकाजी श्रेष्ठको इजलासले खनालले मालपोत कार्यालयका लेखनदास, बैँककै कर्मचारी र केही जग्गाधनी बिरुद्ध दायर गरेको मुद्दामा जाहेरीवालालाई दोषी ठहर गरि अन्य १३ जनालाई सफाइ दिएको जानकारी दिए। 

अदालतले खनालको जाहेरीले प्रतिवादी बनेका धनगढीका जग्गाधनी राम बहादुर कुवँर, दीपक कुवँर, प्रभा तामाङ, दोर्जे लामा, कमल बहादुर तामाङ र धन बहादुर तामाङलाइ सफाइ दिएको हो। 

अर्का जग्गाधनी दीपक खड्काको मुद्दा भने तामेलीमा राखिएको अदालतले जनाएको छ। अदालतका श्रेस्तेदार कुन्जेडाका अनुसार खड्का नेपाल बाहिर भएकाले स्वदेशमा भेटिन बितिकै मुद्दा चलाउने गरि मुद्दा तामेलीमा राखिएको हो। 

धनगढीको क्याम्पस चोकमा डेरी सञ्चालन गर्दै आएका खड्का मिटर ब्याज धन्दामा फसेका थिए। यस्तै अदालतले खनालले प्रतिवादी बनाएका मालपोत कार्यालय कैलालीका लेखनदास प्रकाश पन्त, खेमबहादुर बिष्ट, भोजबहादुर थापा र हरीप्रसाद जोशीले पनि सफाइ पाएका छन्। 

खनालकै सहकर्मीहरु महेश जोशी, बुझाउन चौधरी र प्रकाश दत्त भट्टले पनि सफाइ पाएको अदालतले जनाएको छ। 

अदालतले जाहेरी दिने बैँकका तत्कालीन प्रबन्धक खनाललाई दोषी ठहर गरेपनि सजाय भने निर्धारण गरेको छैन्। आउँदो पुस २३ गते मात्र सो मुद्दामा दोषी ठहर भएका खनालाई हुने सजाय निर्धारण गरिनेछ। 

उनलाई कैद र बिगो बराबरको जरिवाना हुने सम्भावना रहेको बताइएको छ।  खनालले मुद्दा दायर गर्दै किर्ते छाप, दस्खत र कागजपत्र तयार गरि जग्गाधनीहरुले ऋण लिएर आफूलाई ठगी गरेकाले सजायको माग दाबी सहित मुद्दा दायर गरेका थिए। 

उनले किर्ते कागजपत्र पेश गरी ती जग्गा धनीहरुले दुई करोड २४ लाख रुपैया ऋण लिएको भन्दै असुल उपर गराउन माग दाबी गरेका थिए। तर अदालतले उल्टै खनालाई दोषी ठहर गरेको हो। 

कमेन्ट लोड गर्नुस