सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्रीद्वारा सरकारी सुविधाको दुरुपयोग गरि आफ्नै प्रधानमन्त्री विरुद्व भाषण

२०७७ पुष १४, ०७:४० जनक विष्ट

धनगढीः मंगलबार बिहान आफ्नै मन्त्रीपरिषद्का सदस्य रहेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका मुख्यमन्त्री त्रिलोचन भट्ट सरकारी गाडी लिएर गृह जिल्ला डोटीतर्फ हानिए। 

भट्ट त्यसको केही घण्टापछि डोटी सदरमुकाम सिलगढीमा नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको विरोध सभामा देखिए। 

आफ्नै मन्त्रीलाई बर्खास्त गरि सरकारी गाडी र इन्धनको प्रयोग गरि डोटी पुगेका मुख्यमन्त्री भट्टले औपचारिक रुपमा अलग नभइसकेको नेकपाका अर्का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को भाषण गरे। 

नेकपाको अनौपचारिक विभाजनपछि प्रचण्ड–नेपाल खेमामा उभिएका मुख्यमन्त्री भट्टले आफ्नै प्रधानमन्त्री विरुद्व भाषण गर्दा उनी आफ्नो पदिय जिम्मेवारीबारे अनभिज्ञ देखिए। 

नेकपाको एउटा गुट वा पार्टी मात्र नभइ सम्पूर्ण प्रदेशबासीका अभिभावक रहेका मुख्यमन्त्री भट्टले भाषणका क्रममा भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना भएन भने यो देश फेरि दशौँ वर्ष पछाडि जान्छ। यसको जिम्मेवार को हो ? भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ।’

उनले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदम विरुद्ध सबै ठाउँबाट विरोध गर्नुपर्ने बताए। 

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह पनि गृह जिल्ला बाजुरामा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको प्रतिनिधिसभा विघटन विरुद्धको विरोध कार्यक्रममा सहभागी भए। 

मुख्यमन्त्रीले झै सरकारी सुविधाको प्रयोग गरि धनगढीबाट बाजुरा पुग्नुभएका शाहले पनि अर्का अध्यक्ष ओलीले चालेको कदमको विरुद्ध भाषण गरेका छन्। 

प्रदेशकै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट पनि सरकारी गाडी र इन्धनको प्रयोग गरि विरोध सभामा सामेल हुन मंगलबार गृह जिल्ला बैतडी पुगिन्। 

त्यहाँ उनले पनि प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भाषण गरिन्। तर आफूले सरकारी सुविधाको दुरुपयोग गरेको ख्याल नै नगरेको भन्दै भट्टको आलोचना भएको छ। 

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधर, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,  पनि धनगढीमा आयोजित विरोध सभामा सहभागी भए।

तर उनीहरु दुबै जनाले सरकारी सुविधा वापत प्राप्त भएको गाडी र इन्धनको प्रयोग नगरेको  दाबी गरिएको छ। यसरी मन्त्रीहरु आम नागरिकको करबाट प्राप्त गरेको सरकारी सुविधाको दुरुपयोग गर्दै विरोध सभामा सहभागी भएपछि आलोचना हुन थालेको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले भने मन्त्रीहरुमा नैतिकता नै बाँकी नरहेको टिप्पणी गरेका छन्। नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारका मन्त्रीहरु पनि राज्य कोषको दोहन गर्न उद्दत भएको आरोप लगाए। 

‘नैतिकता भएका मान्छेले पो त्यस्ता कुराको ख्याल गर्छन्,’ खड्काले भने, ‘कुनै कर्म गर्न बाँकी नराखेका उनीहरुलाई नैतिकता र इमानदारिताको वास्ता नै छैन्। ऐन एकातिर कार्यविधी एकातिर ल्याएर सेवासुविधा लिइरहेका मन्त्रीहरुलाई गाडीको दुरुपयोग त सामान्य हो।’  

 विरोध सभामा सहभागी भएका नेकपाकै प्रचण्ड–नेपाल समूहका स्थानीय तहका जनप्रतिनिधिहरुले समेत सरकारी सुविधाको दुरुपयोग गरेको पाईएको छ। तर उनीहरुले भने आफ्नो बचाउ गरेका छन्। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस