बाजुराको जडाङ्गमा नदिमा गाडी गुड्ने काठेपुल निर्माण
बाजुराः बाजुराकाे बडिमालिका नगरपालिकाले साँफे–मार्तडी सडकखण्ड अन्तरगत जडाङ्गमा नदीमा गाडी गुड्ने काठेपुल निर्माण गरेको छ।
बेलीब्रिज निर्माणमा समय लाग्ने भएपछि नगरपालिकाले जीप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन गुडाउन मिल्नेगरी काठेपुल निर्माण गरेको नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए।
मार्तडीसम्म यातायात सञ्चालनसँगै सामान ढुवानीमा सहजताका लागि काठेपुल निर्माण गरेर मंगलबारबाट सञ्चालनमा ल्याइएको बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल बिकले बताए।
अहिले जडाङ्गा नदीमा बेलीब्रिज निर्माणको कार्य सुरु भइसकेको छ। सडक डिभिजन कार्यालय साँफेबगरले बेलीब्रिज ढुवानीदेखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो। जुन एमरएस एमके बिल्डरर्स एण्ड कन्सट्रक्सन कम्पनी, धनगढी कैलालीले पाएको थियो।
अहिले निर्माण कम्पनीले सामान ढुवानी गरेर बेलीब्रिज निर्माण कार्यको थालनी गरिसकेको सडक डिभिजन साँफेबगरका प्रमुख ललित खनालले बताए।
साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढिले बेलिब्रिज बगाएको थियो। नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क बिच्छेद भएको थियो।