सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नयाँ र दोस्रो लहरको कोरोना विषाणुको फैलावटले स्थिति बिग्रन सक्ने सम्भावना

२०७७ पुष १४, ०६:५९ नारायण अवस्थी

धनगढीः कोरोना भाइरस (विषाणु)को प्रभाव र दोस्रो लहरसँगै विश्वमा नयाँ खाले विषाणुको फैलावट बढिरहेको छ।

तर स्वास्थ्य सतर्कता र महामारी नियन्त्रणको सरकारी प्रयास फितलो भएको प्रति जनस्वास्थ्यविदहरुले चिन्ता व्यक्त गरेका छन्। राज्यको पहुँच कम भएका प्रदेशका ग्रामीण भेगमा दोस्रो लहरको असर अझ भयवाह हुने चिन्ता गरिएको छ। 

महामारीका बीच देशमा जारी राजनीतिक संकटले थप समस्या निम्त्याउने सम्भावना उत्तिकै बढी छ। सरकारले घोषणा गरेको मध्यावधि चुनावले कोरोना नियन्त्रण तथा खोप खरिदमा आर्थिक संकट हुने निश्चित छ।

जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीले विश्वमा कोरोना विरुद्धको खोप खरिद गर्ने होड नै चलिरहेको बेला नेपालले भने अब चाहेर पनि उचित समयमा खोप खरिद गर्न नसक्ने पो हो कि भन्ने चिन्ता थपेको बताउँछन्। कारोना नियन्त्रणमा जुटेको राजनीतिक संकटले समस्यामाथि समस्या थपेको उनको भनाइ छ।

पछिल्लो समय कोरोना विषाणुको तीव्र विस्तार र कडा लक्षणसहितका विरामीको संख्या र मृत्युदर समेत बढिको छ। यसैबीच  विभिन्न राजनीतिक दलहरुले गर्न लागेको आन्दोलन र भेलाले कोरोनाप्रतिको असावधानी बढाउन सहयोग गरिरहेकोमा समेत चिन्ता गरिएको छ।

सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले अहिले आएर नागरिकहरुमा समेत रोगप्रतिको सजगता र सावधानीमा आएको उदासिनताले अवस्था झनै गम्भीर हुन सक्ने बताए।

यद्यपि सुदूरपश्चिम प्रदेश सरकारले भने कोरोनासँग जुध्ने कुरामा पहिलो चरणमा सफलता हासिल गरेको जिकिर गरेको छ। तर स्वास्थ्य सुरक्षा मापदण्डको पालना पछिल्लो समयमा जनस्तरमा नभइरहेको प्रति चिन्ता थपेको हो। 

कोरोनाको दोस्रो लहर र कोरोना खोपको सरकारी तयारीवारे सामाजिक मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘हामीले ५० शैयाको कोरोना अस्पताल बनाउँदै छौँ। उपकरण, अत्याधुनिक एम्बुलेन्स समेत खरिद गर्दैछौँ। कोरोना खोप संघीय सरकारले उपलब्ध गर्ने हुँदा सो खोपको व्यवस्थापनका लागि पनि आवश्यक तयारीमा छौँ।’

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण हुने मृत्यु दर बढेको छ। यसका साथै समुदायस्तरमा समेत संक्रमण फैलिइसकेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस