कैलालीका २ युवाले बनाए चल्ला कोरल्ने ‘पोथी मशिन’
धनगढी: कैलालीका २ जना युवाले चल्ला कोरल्ने ‘पोथी मशिन’ बनाएका छन्। नयाँ मशिन बनेसँगै अब व्यवसायिक चल्ला उत्पादकहरुले नेपालमै बनेको चल्ला कोरल्ने मशिन (इन्क्यूबेटर) प्रयोग गर्न पाउने भएका छन्।
कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका २६ वर्षीय सुमन पौडेल र टीकापुर नगरपालिकाका ३२ वर्षीय विजय शाहीको टिमले उक्त मशिनको आविष्कार गरेको हो।
निर्माणकर्ता कम्पनी पाथीभरा सेन्सस सोलुसनका सञ्चालक इलेक्ट्रिकल इंजिनियर सुमनले अब भारत तथा अन्य तेस्रो मुलुकबाट आयातित मसिनका लागि चर्को शूल्क तिर्न नपर्ने बताएका छन्। ‘हामीले कृषकका लागि स्थानीय विकल्प तयार पारेका छौ’ उनले भने ‘कृषकले अब नेपालमै बनेको स्मार्ट इन्क्युबेटर मसिन प्रयोग गर्न सक्नेछन्।’
साथै मेसिन स्मार्ट समेत रहेको दाबी गर्दै उनले मेसिन प्रयोग गर्न तथा निरीक्षण गर्न मोबाइलका लागि छुट्टै एप तयार पारिएको बताए। अब कृषकले आफु बसेको ठाउँबाटै मेसिन सञ्चालन गर्नसक्ने सुमन पौडेल बताउँछन्।
हाल भारतबाट आउने इन्क्यूबेटरमा वारेन्टी भएपनि सर्भिसिङका लागि कृषक तथा उद्यमीहरुले दुःख पाउँदै आइरहेका बताउँदै सुमन भन्छन्, ‘हामीले तयार पारेको मेसिन गुणस्तरीय हुनुका साथै सस्तो मूल्यको छ, हामीले सर्भिसिङ पनि सक्दो छिट्टै दिने प्रयास गरेका छौ।’
कम बिजुलीबाट चल्ने मशिन
आविष्कार भएको ‘पोथी मशिन’ साना जलविद्युतबाट उप्पादन भएको तथा कम भोल्टेज भएको बिजुलीबाट सञ्चालन हुने निर्माणकर्ता कम्पनीको दाबी छ।
साना जलविद्युत परियोजनामा निर्भर रहने हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुलाई मेसिनले सहजता प्रदान गर्ने कम्पनीका संचालक सुमनले बताए। ‘मेसिनलाई ८० वाटको बिजुली मात्रै आवश्यक पर्ने हुँदा यो सोलारबाट समेत चल्न सक्छ’ उनले भने।
आफुहरुले २८ मेसिन बिक्रि गरिसकेको सुमन बताउँछन्। जसमध्ये केही दार्चुला समेत पुगेको उनले बताए। ३ सय ५० देखि ३२ हजार अण्डा कोरल्नसक्ने इन्क्युबेटर मशिन तयार गर्न सक्ने उनले जानकारी दिए। जसको मूल्य ६० हजारबाट सुरु हुने बताइएको छ।
'पोथी मसिन’ बाट कुखुरा, हाँस, लौकट, कालिज, अष्ट्रिच, तित्रा, टर्की जस्ता पन्छीहरुको अण्डा कोरल्न सकिने बताइएको छ।