सुदूर नेपाललाई विश्वसँग जोड्दै

मरुभूमि बने बाजुराका खेती योग्य जमिन, खाद्यान्न संकट निम्तियो

२०७७ पुष ८, ०२:२६ प्रकाश सिंह

बाजुरा: बाजुराका खेती योग्य जमिन बाँझै छन्। खडेरीका कारण जिल्लाको पूर्वउत्तरी क्षेत्र, बझाङ्ग, कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालिकोटका धेरै भू–भाग बाँझै रहेका हुन।

जमिन बाँझै भएपछि त्यहाँका गाउँमा चरम खाद्य संकट उत्पन्न भएको छ। बाजुराको उत्तरी क्षेत्रका स्वामीकार्तिक, पाण्डबगुफा, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिका, हुम्लाको ताजाकोट, अदानचुली गाउँपालिका, मुगुका खत्याड र सोरु गाउँपालिकामा खाद्यान्न संकट निम्तिएको छ। 

सिँचाई अभाव हुँदा आकासे पानीको भर पर्ने त्यहाँका कृषकहरु यस वर्ष परेकोे खेडेरीका कारण आजित भएका छन्। उत्पादन नहुँदा स्थानीय बजारको खाद्यान्नमा निर्भर रहेको बढीनन्दा नगरपालिकाका कोटीलाका मनबहादुर मल्लले बताए। ‘वर्षा हुने समयमा खेती योग्य जमिनबाट वर्षमा ४ महिना खान पुग्थ्यो। अहिले त जग्गा पुरै बाँझो छन्’ उनले सुनाए। 

खडेरीका कारण खेती योग्य जमिन पुरै बाँझो रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल बताउँछन्।  ‘यो बेला पुरै खेतमा गहुँ र जौँले हरियाली हुन्थ्यो। तर यसपाली सबैका खेत मरुभूमिमा परिणत भए’ उनले भने। 

४ वर्षदेखि खेत बाँझै 
बाजुराकै स्वामीकार्तिक गाउँपालिकाको वाई गाउँमा ४ सय परिवारकोे खेती योग्य जमिन वाई जिउला ४ वर्षदेखि बाँझो छ।

पहिले गाउँलाई त्यहि जिउलोबाट उत्पादन भएको अन्नले पुग्ने गरेकोमा अहिले खडेरीका कारण अन्नबाली नै नलगाएको स्थानीय इश्वर गीरीले बताए। ‘तल कर्णाली बगिरहेको छ। माथि पानी अभावमा पुरै जमिन बाँझो छ’ उनी भन्छन्, ‘त्यहि कर्णालीका पानी हेरेर चित्त बुझाइरहेका छाैं।’

यस्तै जिल्लाको निकै उत्पादन हुने क्षेत्रका रुपमा रुपमा चिनिने हिमाली गाउँपालिकाको धिम, फैती, बोर्ता, स्वामीकार्तिक गाउँपालिको वाई, साप्पाटा, जुकोट गाउँमा रहेका जग्गा पुरै बाँझो रहेको स्थानीय शिक्षक मानबहादुर रोकायाले बताए। 

त्यस्तै हुम्लाको मैला गाउँमा रहेको जिउलोले ५ सय परिवारको गुजारा चल्दै आएकोमा अहिले खडेरीका कारण उक्त क्षेत्रमा खाद्य संकट निम्तिएको स्थानीय देवु सार्कीले बताए।  

खडेरीका कारण गाउँलेहरु गाउँमा नबसी भारत र नेपालका विभिन्न शहरहरुमा आफ्नो गुजारा चलाउन हिडेको उनले बताए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस