सुदूरपश्चिमका ठूला पूर्वाधारका योजना प्रभावित हुने चिन्ता
मध्यावधि चुनाव घोषणा प्रभाव
धनगढीः प्रतिनिधिसभा विघटन गर्दै बैशाखका लागि घोषणा गरिएको मध्यावधि चुनावले सुदूरपश्चिमका ठूला पूर्वाधारका योजना पनि प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै घोषणा गरिएको मध्यावधि चुनाव हुने÷नहुने अन्योल कायमै रहेका बेला ठूला पूर्वाधारका योजना प्रभावित हुने चिन्ता उत्पन्न भएको छ।
सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण मानिएको निर्माणाधिन चार लेनको महाकाली पुलको काम झण्डै ५७ प्रतिशत सम्पन्न भएको छ। ढुङ्गा अभावमा नदी नियन्त्रणका झण्डै २ किलोमिटर क्षेत्रमा बनाउनुपर्ने बाधको काम प्रभावित भएका बेला मध्यावधि चुनाव घोषणा गरिएको छ।
सो चुनावका कारण निर्माणको काममा ढिलाई हुने देखएको छ। चालु वर्षमा स्वीकृत वार्षिक बजेट कटौती नभएपनि चुनाव भइहाले अन्य विविध कारणले काममा ढिलासुस्ती हुने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनीयर ध्रुव झाले बताए।
चुनावका बेला निर्माण व्यवसायी र कामदारहरु पनि चुनावमा जान्छन्। काम प्रभावित भइहाल्छ,’ उनले भने, ‘सोही करणले उनीहरुले म्याद थपको माग गर्न सक्छन्। त्यसले आर्थिक भार थपिन सक्छ।’
लामो समयपछि गत मंसिरमा मात्र सरकारले सेती लोकमार्ग अन्तरगत दक्षिण खण्डको रुख कटानीको आदेश दिएको छ। कैलाली, डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोड्ने गौरवको सेती लोकमार्गको दक्षिण खण्डमा रुख कटान आदेशपछि टाचा लगाउने काम सुरु भएको दक्षिण खण्ड कार्यालय प्रमुख ललित खनालले बताए।
उनका अनुसार टीकापुरदेखि बौनियासम्मको खण्डलाई पनि समावेश गरी ९७ करोडमा बुहवर्षीय ठेक्का लगाउन प्रक्रिया पनि थालिएको छ।
तर मध्यावधि चुनावले काम प्रभावित हुने चिन्ता गरिएको छ। योजना प्रमुख खनाल भने चुनावका बेला काम रोकिने भएपनि अन्य समयमा खासै असर नपर्ने बताउँछन्।
‘चुनावको बखत बाहेक खासै प्रभाव हुँदैन्, राजनीतिक दल र नेताहरुले विकास निर्माणलाई नै राजनीतिक एजेण्डा बनाउने भएकाले कामलाई त्यति असर नपर्ला,’ उनले भने।
वषौँदेखि चर्चामै सिमित धनगढी दिपायल फास्ट ट्रयाकको दक्षिणतर्फ डोटीको वीपीनगर र कैलालीको हाटखोली क्षेत्रमा काम चलिरहेको छ।
तर मध्यावधि चुनावले बजेट कटौत भए समस्या हुने योजना कार्यालयको भनाइ छ।
योजना कार्यालयका प्रमुख इन्जिनीयर खगेन्द्र शाही भन्छन्, ‘हामीलाई काम गर्न दिएको बजेट तानिदियो भने अपुग होला। ठेकेदारलाई भुक्तानी गर्न अपुग हुन्छ।’
यति मात्र नभएर मध्यावधि चुनाव भए रानीजमरा सिँचाइ आयोजना, हुलाकी सडक, महाकाली सिँचाई लगायतका ठूला पूर्वाधारका योजना प्रभावित हुने चिन्ता गरिएको छ।
तर कतिपय योजना राष्ट्रिय तथा प्रदेश गौरवका भएकाले सरकारले स्वीकृत वार्षिक बजेट कटौती नगर्ने सम्भावना पनि धेरै रहेको सरकारी अधिकारीहरुले बताएका छन्।