बैतडीको दोगडाकेदारका रोजगार संयोजक नहटाउन उच्च अदालतको आदेश
बैतडी: बैतडीको दोगडाकेदार गाउँ कार्यपालिकाले गरेको निर्णय उच्च अदालत दिपायल, महेन्द्रगर इजलासले उल्ट्याइदिएको छ।
गाउँपालिकामा कार्यरत रोजगार संयोजक महेश राजभट्टको करार सेवा सम्झौता रद्द गर्ने गाउँपालिकाको निर्णय अदालतले उल्टाएको हो।
गाउँ कार्यपालिकाको मंसिर २५ गतेको बैठकले रोजगार संयोजक भट्टको करार सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। गाउँ कार्यपालिकाले आफ्नो करार सम्झौता बिनाकारण रद्द गरेको भन्दै रोजगार संयोजक भट्टले न्याय खोज्नका लागि उच्च अदालत दिपायल, महेन्द्रगर इजलासमा रिट निवेदन दिएका थिए।
सोही रिट निवेदनको आधारमा उच्च अदालत दिपायल, महेन्द्रगर इजलासले रोजगार संयोजक भट्टको पक्षमा फैसला गरेको हो।
मुख्य न्यायाधीश तेजबहादुर कार्कीको एकल इजलासले सेवाबाट हटाउने कुनै कारण नभएको अन्तरिम फैसला सुनाएको छ।
फैसलामा सेवाबाट हटाउने सम्बन्धी कुनै कारण उल्लेख नभएको र प्रारम्भिक अध्ययनबाट विपक्षी (दोगडाकेदार गाउँपालिका)को सो कारवाही रोजगार संयोजकको सेवा सुबिधा सम्बन्धीमापदण्ड, २०७६ को दफा १५(२) को प्रतिकुल भएको भनिएको छ।
अदालतले गाउँपालिकाको सो निर्णय यथास्थितीमा राख्न अन्तरीम आदेश जारी गरेको हो। उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) अनुसार दोगडाकेदार गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको जनाइएको छ।
२ वर्ष पहिले श्रम मन्त्रालयले लागु गरेको प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत मन्त्रालयले गरेको विज्ञापनबाट छनौट भई भट्ट दोगडाकेदार गाउँपालिकामा कार्ररत थिए।