सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङ अस्पतालमा सघन उपचार कक्षको शुभारम्भ

२०७७ पुष ७, ०५:५२ रासस

धादिङ : धादिङ अस्पतालमा सोमबारबाट सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको शुभारम्भ भएको छ । 

कोरोना भाइरस महामारीपछि वाग्मती प्रदेशअन्तर्गत यो सेवा शुभारम्भ भएको धादिङ तेस्रो जिल्ला बनेको छ । यसअघि भक्तपुर र मकवानपुरमा सघन उपचार कक्ष (आइसियू) सहितको भेन्टिलेटर सेवाको सुरुआत भइसकेको छ । धादिङ अस्पतालले १० शैयाको आइसियू र दुई थान भेन्टिलेटर सेवा हिजोबाट सञ्चालनमा ल्याएको हो । 

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आइसियूसहितको भेन्टिलेटर सेवाको शुभारम्भ गरेपछि सर्वसाधारणका लागि सो सेवा खुल्ला भएको अस्पतालले जनाएको छ । उनले अस्पतालको क्षमता बढाउनका लागि औजार, उपकरण सहयोग गर्ने उल्लेख गर्दै धादिङ अस्पतालले निकट भविष्यमा नै डायलासिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा शुरु गर्नका लागि प्रदेश सरकारले सघाउने बताए । 

कार्यक्रममा धादिङ अस्पतालले दिएको सेवाका बारेमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले प्रस्तुति गरेका थिए । धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा जानकारी दिएका थिए ।

कमेन्ट लोड गर्नुस