अस्ट्रेलियादेखि विमानमा सुदूरपश्चिम ल्याइएका बोयर बोकाको कथा
महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशलाई खसी वा बोकाको मासुमा आत्मनिर्भर बनाउने उदेश्यसहित कञ्चनपुरमा बोयर बाख्रा फर्म सञ्चालनमा ल्याइएको पनि वर्षदिन बित्न थालिसकेको छ।
नगरदेखि पश्चिमतिर गहुँ खेतहरूको बीचमा बनाइएको फार्ममा बोयर बोका र तिनका पाठापाठी हुर्कने क्रम त चलिरहेकै छ। सँग-सँगै बोयरका बोका वा पाठा पाठीको बढ्दो माग धान्नफार्म सञ्चालकलाई धौ-धौ भइरहेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ गोबरियामा सञ्चालनमा रहेको चन्दज गोट एण्ड एग्रिकल्चर प्रालिले सुदूरपश्चिममा पालना हुँदै आएका बाख्राको नस्ल सुधार गर्दै तौल वृद्धि गर्ने र प्रदेशसँग पूरै देशलाई मासुमा आत्मनिर्भर गराउने लक्ष्य लिएको छ।
३ वर्षमा सुदूरपश्चिम मासुमा आत्मनिर्भर
फार्मले २०८० सालसम्ममा सुदूरपश्चिमलाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
सुदूरपचिमका किसानले पालन गर्दै आएका बोकाको औसत तौल २२ किलोग्राम हुनेमा नस्लसुधारपछि ४० किलोग्रामसम्म हुने अनुमान गरिएको छ। अबको ३ वर्षभित्र सुदूरपश्चिमलाइ मासुमा आत्मनिर्भर बनाउन सकिने दाबी चन्दज फार्मका सञ्चालक गणेश चन्दको छ।
कुनै समय फुटबल खेलेर देशैभर ख्याति कमाइएका गणेश चन्द पछि काठमान्डूमा घरजग्गा तथा निर्माण व्यवसायमा लागेका थिए। पछि उनले कृषिमा केही गर्ने सोच बनाएर आफ्नै जन्मथलो सुदूरपश्चिम फर्किए।
गणेश चन्दले किन कृषि कर्म रोजे
सुदूरपश्चिमको प्रदेशकै नाम देशको कृषिको किताबमा नदेखिएकाले बोयर बोका पालन सुरु गरिएको चन्दले दिनेशखबरलाई बताए।
“बोयर बोका अस्ट्रेलियाबाट ल्याउनुपर्ने कारण सुदूरपश्चिमको नाम हो। कामको लागि बन्दिपुर गएको थिएँ। त्यहाँ एक कार्यक्रममा किताब पढेँ। नेपालका अन्य प्रदेशको नाम थियो। तर सुदूरपश्चिमको नाम थिएन।”
उनले भने, “त्यो कुराले मलाई साह्रै घोच्यो। अन्य प्रदेशमा हुने? सुदूरपश्चिममा किन हुन सक्दैन? प्रकृतिले सबै कुरा दिएको छ। काठमाण्डौ फर्किएँ, परिवारसँग कुरा गरेँ। ३२ वर्षदेखि कन्ट्रक्सनको काम गर्दै आएकोमा नयाँ काम गाह्रो थियो। तर परिवारले साथ दिए।
“त्यसपछि आफ्नै ठाउँमा नौलो काम गर्ने उदेश्यसहित बोयर बोका लिन अस्ट्रेलियागएँ। अनि यी बोयर बोका किनेर विमानमा हालेर ल्याएँ।”
अस्ट्रेलियाका बोयर कञ्चनपुरमा हुर्कँदै
३२ वर्षदेखि घर जग्गाको कारोबार गर्दै आएका कञ्चनपुरका चन्दले सञ्चालन गरेको बाख्रा फर्मले अब केही महिनामै निकै राम्रो प्रतिफल दिने अपेक्षा गरेका छन्।
सुदूरपश्चिम र नेपालका अन्य प्रदेशमा पाल्नेगरिएका स्थानीय जातका बाख्रा कम तौलका हुन्छन् र तिनले बजारमा राम्रो मूल्य पाउन सक्दैँनन्।
तर तिनिहरुको नस्ल सुधार गर्न सके पाठापाठीको तौलमा बढ्ने र मासुको मात्रा पनि धेरै हुने निश्चित छ।
चन्दले भने, “आजको भोली नै प्रतिफल आउने कुरा हैन, कम्तीमा ३० महिना पर्खिनु पर्छ। धैर्य गरेर लगानी गर्न सकेमा विदेशबाट आउने मासु रोक्न सक्छौँ। मैले सञ्चालन गरेको फार्मले सुदूरपश्चिमका किसानहरुसँगको सहकार्यमा धेरै मुनाफा लिन सकिन्छ।”
सुदूरपश्चिमलाई २०८० सम्ममा मासुमा आत्मनिर्भर बनाउने उदेश्यसहित बोयर बाख्राको फार्म २०७५ असोज १४ बाट सञ्चालनमा ल्याएको चन्दले बताए। झण्डै ३ करोड रुपैयाँको लगानीमा सञ्चालनमा रहेको फार्ममा ३० वटा बोयर जातका बोकाहरु छन्।
अन्तर्राष्ट्रिय उडान बन्द गरिएकाले थप ६० वटा बोयर बोका अस्ट्रेलियामै रोकिएका छन्। तर ३ सय बोयर जातको बोकाको माग आएको उनले बताए। प्रति बोकाको मूल्य ३ लाखसम्म पर्ने तर किसानका लागि महंगो नहुने उनको दाबी छ।
के बोयर महंगो हुन्छ ?
उनले भने, “किसानलाइ बोका महंगो पर्दैन। हामीले पालेको बोकाको तौल २० देखि २२ किलोग्राम हुन्छ। तर स्थानीय पाठी बोयर बोकासँग क्रस गर्दा जन्मिने पाठा वा पाठी ४० देखि ४२ किलोसम्म हुन्छ।
“एक बोकाले सयैँ बाख्रासँग क्रस गर्न सकिन्छ। कसरी महंगो हुन्छ? नस्ल सुधारका लागि हामी लागेका हौँ।” ३ लाखको बोकाले एक बेतमा मात्र रकम असुल गर्ने चन्दको दाबी छ।
सरकारी सहयोगको अपेक्षा
सुदूरपश्चिमका किसानलाइ प्रविधि र प्राविधिक सहयोग सरकारले गर्नुपर्ने जोड गरिएको छ। सुदूरपश्चिमका दुर्गम क्षेत्रमा बाख्रा पालन गर्ने किसानलाई नस्लसुधारका बारेमा जानकारी नभएकाले उनीहरुलाई प्रशक्षण तथा तालिमको प्रबन्ध सरकारले मिलाइदिनु पर्ने चन्दको मत छ।
“नेपालको प्रत्येक जिल्लामा सुदूरपश्चिमले बाख्रा आपूर्ति गर्न सक्छ। हामीसँग बजार छ। यो फार्मलाई बोयर बोकाको फार्मका रुपमा चिनाउँछौँ,” उनले भने।
उनी भन्छन् किसानसँग पुँजी हुँदैन, त्यसैले सरकारले सहुलियत दरमा ऋण पनि दिनुपर्छ।
“अनुदान हैन, ऋण दिनुपर्छ। सरकारले अनुमान बन्द गर्नुपर्छ। आजका मितिबाटै बन्द गर्नुपर्छ। उत्पादनको आधारमा ऋण दिनुपर्छ। न्यून ब्याज दरमा ऋण दिन बैँकहरुसँग सरकारले समन्वय गर्नुपर्छ,” उनले भने।
किसानलाई कम पूँजीमा गोठ तयार गर्न समेत सरकारले सहयोग गर्नुपर्ने माग सञ्चालक गणेश चन्दको छ। उनले सरकारले गाउँ–गाउँमा गएर किसानलाई प्रविधिक सहयोग गर्नुपर्ने बताए।
खोप तथा उपचारको व्यवस्था हुनु पर्ने माग
बोयर बोका वा बाख्रामा ७ देखि ८ प्रकारका रोगको प्रकोप हुने भन्दै औषधिको उपलब्धता गराउन उनले माग गरे।
बोयर जातको बोकाहरुलाइ रोगव्याधीबाट बचाउन खोपको व्यवस्था गर्न सरकार लागिपर्नु पर्ने उनको माग छ।
मासुको बढ्दो माग तर विदशबाट किन्नु पर्ने बाध्यता
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार अहिले प्रदेशमा ३१ दशमलव ०९ हजार मेट्रिक टन मासुको माग रहेकोमा १० दशमलव ६८ हजार मेट्रिक टन मासु मात्र उपलब्ध हुने गरेको छ।
मागको ९ प्रतिशत मासु मात्र देशभित्रबाट प्राप्त हुने गरेको छ भने बाँकी मासु छिमेकी भारत वा चीनबाट महंगो मूल्यमा किन्ने गरिएको छ।