धनगढी ६ लेन सडकमा अर्को बखेडा, सडक योजना कार्यालयलाई फुटपाथ र सर्भिस लेनको चौडाइ घटाउन दबाब
धनगढीः मोहना पुल–अत्तरिया ६ लेन सडक निर्माण पूरा नहुँदै सर्भिस लेनको आकारलाई लिएर नयाँ अवरोध सिर्जना भएको छ।
१४ दशमलव २ किलोमिटरको लम्बाइको सो सडकमा पुल निर्माणबाहेक धेरै काम पूरा हुने क्रममा छ। एस्टमेट अनुसार सडक ६ लेन भएको ठाउँमा नालीसहितको ३ मिटर फुटपाथ र साढे ४ मिटर सर्भिस लेन निर्माण गरिने मोहना पुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयल धनगढीले जनाएको छ।
कैलालीवासीले सडकको डिजाइन अर्थात प्रारूपलाई बेवास्ता गरी आफ्नो घर तथा भौतिक संरचना निर्माण गरेकाले ६ लेन सडकमा नयाँ व्यवधान उत्पन्न भएको हो। धनगढी चटकपुरका स्थानीय व्यवसायी मायाप्रकाश भट्टले फुटपाथ ३ मिटरको बनाउँदा सर्भिस लेन केवल साढे ४ मिटर मात्रै हुने र साँघुरो सडकका कारण आवागमन र व्यापार व्यवसायमा समस्या हुने बताए।
तर उनीहरु सडकको डिजाक्षन बेवास्ता गर्दै धमाधम सडकतर्फको अगाडिको भागमा संरचना बनाएको योजना कार्यालयको भनाइ छ। योजना कार्यालयका इन्जिनीयर लक्ष्मणबहादुर रावलका व्यवसायी र घर धनीले सर्भिस लेनदेखि बाहिरपट्टि ६ मिटर जग्गा छोडेर घर बनाए मात्रै आफ्ना सवारी साधन अड्याउन पर्याप्त ठाउँ हुने सुझाए।
मोहना पुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयले सडकको क्षेत्राधिकार ५० मिटर रहेको र सोही अनुसार सडकको बीच भागबाट २५/२५ मिटर दायाँबायाँ समेट्ने गरी मुख्य सडकपछि फुटपाथ र सर्भिस लेन निर्माण भइरहेको योजना कार्यालयको भनाइ छ।
यता धनगढी उपमहानगरपालिकाले योजना कार्यालयलाई सडकको डिजाइन एस्टिमेट अनुसार काम गर्नमा पहल नगरेको बताइएको छ। ६ लेन सडक छेउका स्थानीय व्यवसायीलाई फुटपाथ साँघुरो हुने गरी संरचना नबनाउन दबाब दिनुपर्नेमा पहल नगरेको बताइएको छ।
तर उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले सडकको सर्भिस लेन बाहिर ६ मिटर छोडेर बनाइएका नक्साहरूलाई मात्रै स्वीकृत गर्ने गरिएको बताए। उनले थपे, ‘फुटपाथ र सर्भिस लेन बनाउन उपमहानगरपालिकाले आवश्यक सहजीकरण गर्न तयार छ।’ मोहना पुल–अत्तरिया ६ लेन सडकको दुवै छेउ जग्गा छोड्न सबै घरधनी तयार नभएपछि मूल सडक बाहिर सर्भिस लेन निर्माणमा झमेला उत्पन्न भएको सडक योजना कार्यालयले जनाएको छ।
सडक छेउका कतिपय घरधनीहरूले सर्भिस लेन र फुटपाथको प्रारूप बदल्नु पर्ने माग गरेपछि सडक निर्माणमा अवरोध उत्पन्न हुने देखिएको हो। सडक किनारमा आफ्ना सवारी अडाउन अभ्यस्त व्यवसायीहरूले तीन–तीन मिटरको फुटपाथको चौडाइ घटाएर बाहिरपट्टिको सर्भिस लेनको चौडाइ बढाउनु पर्ने माग गरिरहेका छन्। तर ६ लेन सडक योजना कार्यालयले सडकको प्रारूप बदल्न नमिल्ने अडानमा छ।
मोहना पुल–अत्तरिया ६ लेन सडकमा झन्डै ७७ प्रतिशत काम भएको जनाइएको छ। चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य कार्यालयको छ। तर तीन वटा पुल निर्माणको सुरसार अझै भएको छैन। अहिले आएर प्रारूप अनुसारै सर्भिस लेन बनाउने र त्योदेखि बाहिर ६ मिटर जग्गा छोडाउने चुनौती टड्कारो भएको छ।