सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य सामग्री खरीद प्रकरण अख्तियारले छानबिन गर्ने

२०७७ पुष ३, ०६:४७ रासस

काठमाडौँ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ।  

समितिको आज बसेको  बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि छानबिनका लागि आयोगलाई लेखी पठाउने निर्णय गरेको हो। 

समितिका सचिव डा रोजनाथ पाण्डेले स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले कानूनी कारवाहीका लागि आयोगलाई लेखी पठाउने निर्णय भएको जानकारी दिए।  

स्वास्थ्य सामग्री खरीद प्रकरणमा बजेटको स्रोत यकिन नगरी र  लागत अनुमान तयार नगरी सीधै प्रस्ताव माग गरेर खरीद प्रक्रिया अघि बढाई  सम्झौता गरिएपछि बजेट उपलब्ध गराउन मन्त्रालयमा लेखी पठाइएको प्रारम्भिक अध्ययनबाट देखिएको छ। 

यस्तै खरीदमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र  खरीद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको पाइएको समितिले जनाएको छ। विभागीय प्रमुखले आफू खरीद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको समितिले जनाएको छ। 

बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा अनियमिता भएको देखिए आफू कारबाही भोग्न तयार रहेको बताएका छन्। “स्वास्थ्य सामग्री खरीदमा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार छु”, उनले भने। विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरीदमा केही महँगो परेको उनको प्रष्टोक्ति थियो।

कमेन्ट लोड गर्नुस