सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विकासे योजनामा पनि अवैध क्रशर उद्योग सञ्चालन

२०७७ पुष ३, ०८:५७ कमल सावद

धनगढीः ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा ठुला, रुपान्तरणकारी, राष्ट्रिय गौरवका तथा प्राथामिकता प्राप्त आयोजनाहरुका लागि विशेष क्रशर उद्योग सञ्चालन सम्बन्धि छुट्टै व्यवस्था गरेको छ। 
सो मापदण्डले ठेक्का पाएका निर्माण व्यवसायीलाई क्रशर उद्योग सञ्चालनको अधिकार छ। 

उद्योग सञ्चालनका लागि उनीहरुले स्थानीय तहको स्वीकृत लिएर सामाग्रीको परिमाणका आधारमा लाग्ने बिक्रि मूल्य वापत राजश्व बुझाउनुपर्ने व्यवस्था गरिएको छ। तर कैलालीका सञ्चालनमा रहेका कुनै पनि पूर्वाधार विकास योजनाका क्रशर उद्योगहरुले स्थानीय तहको स्वीकृति नलिएको स्थानीय प्रशासनले जनाएको छ। 

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जिल्लाका केही क्रशर उद्योगले स्थानीय तहबाट स्वीकृति लिएको देखिएपनि अधिकांशले नलिएको दिनेशखबरलाइ बताए। 

‘हामीले अनुगमनका क्रममा आयोजनाका क्रशर उद्योगको पनि अनुगमन गरेका थियौँ। उहाँहरुले स्थानीय पालिकाबाट स्वीकृति लिनुपर्ने हुन्छ। केहीले लिएपनि अधिकांशले लिएको पाइएको छैन। हामीले लिन निर्देशन दिएका छौँ,’ सहायक प्रजिअ चौधरीले भने। 
मापदण्ड विपरीत सञ्चालन भइरहेका त्रशर उद्योगवारे स्थानीय तहहरु भने  बेखबर देखिएका छन। उनीहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बारे नै अनभिज्ञता प्रकट गरेका छन।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले नयाँ मापदण्डका बारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए।

उनले धनगढीमा सञ्चालनमा रहेका क्रशर उद्योहरुका बारेमा कुनै जानकारी नै नभएको समेत बताए। स्थानीय प्रशासनको तथ्यांक अनुसार कैलालीमा ९ वटा त्रशर उद्योग विभिन्न योजना तथा आयोजनाहरुबाट सञ्चालित छन्। 

जसअनुसार मोहनापुल–अत्तरिया सडकका लागि नागार्जुन कन्ट्रक्सनले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा, हुलाकी सडकका लागि जोशी कन्ट्रक्सनले धनगढी–१५ मा, संघीय आयोजना कार्यान्वयन इकाईका लागि खड्का कृष्ण कन्ट्रक्सनले गोदावरी–७ मा, गेटा मेडिकल कलेजका लागि के.एस.कन्ट्रक्सनले गोदावरी–५ मा, सडक डिभिजनलागि राजेन्द्र के.एस. ज्वाइन्ट भेन्चरको गौरीगंगा–३ मा क्रशर उद्योग सञ्चालन गरेका छन।

यस्तै हुलाकी सडकका लागि  तुंडा एण्ड बसन्त कन्सट्रक्सनले भजनी–८, हुलाकी सडककै पुल निर्माणका लागि टीकापुर–८ मा अनक नागार्जुनले क्रसर सञ्चालन गरेका  छन। 

रानीजमरा–कुलरीया सिँचाई आयोजनाका लागि कालिका कुमार जेभी र सेवा–तंडी कन्ट्रक्सनले लम्कीचुहा–३ मा क्रशर उद्योग सञ्चालन गरेको छ।

उनीहरु सबैलाइ स्थानीय तहहरुबाट स्वीकृति लिन निर्देशन भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

तर स्थानीय तह र प्रशासनको जानकारीमै मापदण्ड विपरीत त्रशर उद्योगहरु सञ्चालन हुँदै आएको दाबी समाचार स्रोतको छ। त्यसवापत उनीहरुले सम्बन्धीत निकायका माथिल्लो तहका जिम्मेवारी व्यक्तिलाई आर्थिक प्रलोभजनमा पार्ने गरेको दाबी गर्ने गरिएको छ। 

थप सामाग्री

https://dineshkhabar.com/article/43233

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस