बाजुराको जडाङ्गा नदीमा बेलीब्रिजको निर्माण कार्य सुरु
बाजुरा: बाजुराको बढीमालिका नगरपालिकाको साँफे–मार्तडी सडकखण्ड अन्तरगत जडाङ्गा नदीमा बेलीब्रिज निर्माणको कार्य सुरु भएको छ।
सडक डिभिजन कार्यालय साँफेबगरले बेलीब्रिज ढुवानीदेखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो। जुन एमरएस एमके बिल्डरर्स एण्ड कन्सट्रक्सन कम्पनी, धनगढी कैलालीले पाएको थियो।
अहिले निर्माण कम्पनीले सामान ढुवानी गरेर बेलीब्रिज निर्माण कार्यको थालनी गरिसकेको सडक डिभिजन साँफेबगरका प्रमुख ललित खनालले बताए। ‘बेलीब्रिजको निर्माण कार्य सुरु भइसकेको छ। माघ महिनाको मसान्तसम्म काम सम्पन्न भइसक्ने छ’ उनले भने।
साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढिले बेलिब्रिज बगाएको थियो। नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क बिच्छेद भएको थियो।