रोकिएन धनगढीमा खोलानाला अतिक्रमण, उप–महानगरपालिका बेखबर
धनगढीः धनगढी उप–महानगरपालिका–५ भएर बग्ने सुकुटी नाला किनार अतिक्रमणप्रति वर्षौँ अघिदेखि चिन्ताहरू व्यक्त हुँदै आएका छन्। तर अहिले नालाको दुई छेउ ढुङ्गाको पर्खाल बनाईवरी घर बनाउन मानिसहरूलाई कुनै छेकबार नै नभए जस्तो पाइएको छ।
तर जग्गाधनी आफूसँग लालपूर्जा भएर नै घर बनाउन लागेको बताउँछन्। माथिल्लो तारानगर क्षेत्रको प्रभात र भगवती टोलमा अहिले सुकुटी नाला किनारमा धमाधम घरहरू बनाउने क्रम जारी छ। पुराना स्थानीयको विरोध हुँदाहुँदै पनि नाला किनारमा पिलर हालेर एक घर बन्ने क्रममा छ भने एउटा घरमा जग हालेर छोडिएको छ।
तारानगरका स्थानीयवासी भने सुकुटी नाला अतिक्रमण नरोकिदा सिंगो बस्ती र नगर नै डुवान हुने हो कि भन्ने चिन्तामा छन्। उप–महानगरपालिकाले खोला नालाको दायाँबायाँ कति चौडाइ राख्ने भन्ने कुराको टुङ्गो लगाउन नसक्दा थप अतिक्रमण हुन थालेको स्थानीयको गुनासो छ।
तारानगरको प्रभात टोलका तपेन्द्र सिंहले खोला,नालाको प्राकृतिक बहाव छेकिएकाले स्थानीय सरकारले सबैखाले काम रोक्नुपर्ने बताए। माथिल्लो तारानगरको सुकुटी खोला पुलको झण्डै दुई सय मिटर उत्तरतर्फ खोलामै पर्ने गरी स्थानीय कृष्ण बोगटीले पिलर हालेर घर बनाउन लाग्दा समेत धनगढी उप–महानगरपालिका बेखबर रहेकोमा स्थानीय आक्रोशित छन्।
तर बोगटीले भने आफूसँग १० धुर जमिनको लालपुर्जा भएर नै १९ फिट खोलातर्फ छोडेर घर बनाउन लागेको दाबी गर्छन्। तर उनले नक्सा पास भने गरिसकेका छैनन्। तारानगरको पुल आसपास मात्र होइन सुकुटी नालामा कैयौँ स्थानमा नाला किनारको जग्गा अतिक्रमण भएको देखिन्छ।
खोलाको प्राकृतिक बहाव नै अवरुद्ध हुनेगरी घर लगायतका भौतिक संरचना निर्माणले पुरै धनगढी नगर क्षेत्र डुबानमा पर्न सक्ने चिन्ता बढिरहेको छ। नक्सा पास नगरी अतिक्रमित भनिएका नदी किनारमा घर ठड्याउने क्रम रोक्न उप–महानगरपालिकाले चासो नदिएको आरोप लागेको छ।
तर धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अतिक्रमित क्षेत्रमा बनाइएका भौतिक संरचना कुनै पनि हटाइने.बताए।सुकुटी नालामा एकपछि अर्को घर लगायतका पक्की संरचना बनाउदा वर्षायाममा नालाको पानी नजिकैका बस्तीमा पस्ने र डुबान हुने चिन्ता व्यक्त भइरहेका छन्।
केहि वर्षदेखि धनगढीमा थोरै पानी पर्नासाथ डुबान सुरु भइहाल्ने समस्या उब्जिन थालेको छ। धनगढी उप–महानगरपालिकाले अतिक्रमण हटाउने घोषणा पटक पटक सार्वजनिक गरे पनि तारानगर क्षेत्रमा जारी सुकुटी नाला किनार अतिक्रमण त्यस्तो घोषणा कार्यान्वयन नभएको पछिल्लो उदाहरण हो।
धनगढी उप–महानगरपालिका वडा नम्बर ५ भएर बग्ने सुकुटी नाला किनारको जग्गा अतिक्रमण हुने क्रम तीव्र बन्दा पनि उप–महानगरपालिका पूरै बेखबर भएको गुनासो त्यस क्षेत्रका पुराना बासिन्दाले गरेका छन।सुकुटी नाला किनारमा ठाउँ ठाउँमा जग्गा अतिक्रमित भएका जग्गामा नक्सा पास नै नगरी घर टहरा ठड्याउने क्रम वर्षौँअघि सुरु भएको थियो।
अहिले त्यो क्रम झनै बढेर पक्की ढलान घरहरू निर्माण भइरहेको जोकोहीले देख्न सक्छ। घरधनीहरूले आफूसँग पुर्जा भएको बताएका छन्।
तर सुकुटी नाला क्षेत्रका पुराना बासिन्दा अब डुबानको समस्या विकराल हुने चिन्तामा छन्। स्थानीयले भने उपमहानगरपालिकाले अतिक्रमण रोक्न र हटाउन कुनै कदम चाल्न नसकेको गुनासो गरेका छन्।