डडेल्धुरामा बहुप्राविधिक शिक्षालयका लागि पहल
टेकराज अवस्थी, डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा बहुप्राविधिक शिक्षालय स्थापनका लागि पहल सुरु भएको छ।
मंगलबार जिल्ला समन्वय समिति डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले डडेल्धुरामा शिक्षालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयलाई सहमति दिने निर्णय गरी पठाइएको हो।
सुदूरपश्चिमको पहाडी जिल्लामा बहुप्राविधिक शिक्षालय नभएको अवस्थामा जग्गा उपलब्ध र विस्तृत अध्ययन गर्न मन्त्रालयले गरेको परिपत्रका आधारमा जिल्ला स्तरिय बैठकमा निर्णय गरेर पठाइएको जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टले बताए।
बैठकमा जिससका प्रमुख संयोजक रहने गरी सातै स्थानीय तहका प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ र उद्योग वाणिज्य संघ सदस्य तथा जिल्ला समन्वय समिति डडेल्धुरा सदस्य सचिव रहने गरी १७ सदस्यीय समिति पनि चयन भएको छ।