सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्चुलामा नेपाली मुद्राको बिनिमय दर अनुसार कारोबार गर्नुपर्ने माग

२०७७ मंसिर २९, ०३:०५ नरेन्द्र कार्की

दार्चुला: भारतीय बजार धार्चुलामा नेपाली विनिमय दर अनुसार कारोबार नहुँदा नेपाली उपभोक्ता ठगिएको भन्दै उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले भारतीय प्रान्तिय व्यापार मण्डलको ध्यानाकर्षण गराएका छन्।

 आम उपभोक्ताले भारतीय बजारमा सामग्री खरिद गर्दा नेपाली मूल्य अवमूल्यन गर्दै कारोबार गर्ने गरेको भन्दै उनले भारतीय व्यापार मण्डलको ध्यानाकर्षण गराएका हुन। 

‘नेपाल र भारतको मुद्रा विनिमय दर अनुसार १ हजार नेपाली रुपैँया भारतीय ६ सय २५ रुपैयाँमा सटही हुनुपर्छ’ अध्यक्ष ठगुन्नाले भने, ‘तर भारतीय बजार धार्चुलामा १ हजार नेपाली रुपैयाँलाई व्यापारीहरुले ६ सय भारतीय रुपैयाँमा कारोबार गर्दा नेपाली उपभोक्ता भारतीय व्यापारीबाट ठगिएका छन्।’  

‘नेपाली उपभोक्ताहरु सधै सामग्री खरिदको लागि धार्चुला आउँछन तर हाम्रा उपभोक्ता व्यापारीबाट ठगिनबाट जोगाइदिनुपर्यो। यस विषयमा भारतीय व्यापार मण्डलले सहजीकरण गरिदिनुपर्छ’ उनले अगाडि थपे।

विगतमा नेपालको राष्ट्रिय वाणिज्य बैंक दार्चुलाबाट नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साट्न सकिने व्यवस्था थियो। तर अहिले सटही रुपैयाँ आउदैन्। सटही काउन्टर नहुँदा उपभोक्ता मारमा छन्। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस