सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा यातायात व्यवसायीको ‘सिन्डिकेट’, नयाँले पाइला टेक्नै मुस्किल

२०७७ मंसिर २९, १२:०८ कमल सावद

धनगढीः धनगढी उप–महानगरपालिकाबाट बसपार्कमा टिकट काउन्टर सञ्चालनका लागि अनुमति पाएको शिवपुरी लक्जरी कोच प्रालिलाई टिकट काउन्टर राख्न पाएन।

पहिलैदेखि काउन्टर सञ्चालन गर्दै आएका बस व्यवसायीहरुले काउन्टर राख्न नदिएपछि समस्या सिर्जना भएको हो।

गत असारमा दर्ता भएको शिवपुरी लक्जरी कोच प्रालिले गत मंगलबार धनगढी बसपार्कमा टिकट काउन्टर सञ्चालनका लागि उपमहानगरपालिकाबाट अनुमति पाएको थियो । तर धनगढीबाट सार्वजनिक सवारी सञ्चालन गर्दै आएका अन्य ६ यातायात प्रालिहरुले काउन्टर सञ्चालन गर्न नदिने बताएपछि शिवपुरीका सञ्चालकहरुले सिन्डिकेटको संज्ञा दिएका हुन्।

नयाँ व्यवसायीको दुखेसोः सरकारले सिन्डिकेट हटायो, तर यहाँ हटेन
शिवपुरी लक्जरी प्रालिका यातायात व्यवसायी मीनराज भट्टले नेपाल सरकारले डिन्डिकेट खारेज गरेपनि धनगढीबाट यातायात सञ्चालन गर्दै आएका अन्य व्यवसायीले काउन्टर सञ्चालनमा रोक लगाउनु सिन्डिकेट भएको बताए । 

‘सिन्डिकेट खारेज भएको छ । सरकारले वैधानिक संस्था खोल्न अधिकार दिएको छ । पहिला पनि उहाँहरुले विवाद गर्दै आउनु भएको छ । अन्य समिति सँग मिलेर संस्था खोल्न नदिने ?’, उनले भने ।

धनगढीबाट सञ्चालनमा हुँदै आएका अन्य यातायात प्रालिहरु पनि शिवपुरी जस्तै सुरुवात गरिएको उनले बताए। उनले भने, ‘उहाँहरुको बीचमा पनि पहिले लडाइ थियो। सरकारले संस्था खोल्न सबैलाइ अधिकार दिएको छ । अरु संस्था पनि आउन सक्छन् ।

हामीले किन नपाउने काउन्टर ? वैधानिक रुपमा संस्था दर्ता छ । उपमहानगरपालिकाबाट पत्र ल्याएका छौ । तर लामो दूरीका यातायात नभएको कैलाली यातायातको बोर्ड लगाइयो । तर त्यो काउन्टर हामीले पाउनु पर्छ,’ उनले थपे ।

तर वि.स. २०५० सालबाट सञ्चालन हुँदै आएको कैलाली यातायात प्रालिले काउन्टर सञ्चालनका लागि ठाउँ नदिएको तर शिवपुरीले स्वीकृती पाएको भन्दै विवाद भएको छ । रिर्भर साइड यातायात प्रालि र मालिका यातायात प्रालिको बीचको कोठाबाट शिवपुरीलाई काउन्टर सञ्चालनका लागि उपमहानगरपालिकाले स्वीकृती दिएको छ । तर कैलालीले सो कोठामा ब्यानर लगाएको छ । 

                                                                                      बोर्डमाथि बोर्ड

‘नयाँलाई दिएको अनुमति मान्य छैन’
कैलाली यातायात प्रालिका अध्यक्ष बालकृण प्रसाईले अन्य यातायात व्यवसायी सँग समन्वय बिना उपमहानगरपालिकाले काउन्टर दिएकाले बोर्ड लगाएको जिकिर गरे ।

उनले भने, ‘हामीले काउन्टरका लागि पटक–पटक काउन्टरका लागि भनेका थियौ । तर हामीलाइ ठाउँ दिइएन । तर नयाँ आएको शिवपुरीलाई रिर्भर साइडले प्रयोग गर्दै आएको कोठा खोसेर दिइएको छ । त्यो मान्य छैन । हामीहरुले बिरोध गरेका छौ । हामीसँग एक सय २० वटा गाडीहरु छ । तर उहाँहरुको गाडीको बारेमा समेत कुनै जानकारी छैन ।’

धनगढी बसपार्कबाट ६ यातायात प्रालिका झण्डै एक हजार बस दैनिक सञ्चालन हुँदै आएका छन । तर बसपार्कमा एक पटकमा ७० वटा बस मात्र पार्किङको क्षमता छ । अन्य यातायात प्रालिहरुले बसपार्कमा बस राख्ने ठाउँ समेत नभएको भन्दै जमिन भाडामा लिएर बस सञ्चालन गर्दै आएको बताएका छन ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बसपार्कबाट सबै यातायात प्रालिका सवारी सञ्चालन गर्न सकिने अवस्था नभएको बताए ।

‘बसपार्कमा ठाउँ सानो छ । हामीहरु पनि जमिन भाडामा लिएर बस सञ्चालन गर्दै आएका छौ। बसपार्कमा टिकट काट्ने ठाउँ समेत छैन । २०५० सालबाट सञ्चालनमा रहेको कैलाली यातायातलाइ काउन्टर दिन सकिएको छैन । तर नयाँ आएको शिवपुरीलाइ उपमहानगरपालिकाले काउन्टर दिएको छ । त्यो हामीलाइ पनि मान्य छैन । यातायात सञ्चालन गर्नु छ भने उसले पनि जमिन भाडामा लेओस् । सञ्चालन गरोस,’ उनले भने । 

अध्यक्ष सापकोटाका अनुसार धनगढी बसपार्कमा पार्किङका लागि ठाउँ नभएको भन्दै मल्ल आयलको १२ कट्ठा जमिन मासिक ६८ लाखमा सुन्दर सुदूरपश्चिम र ८ कट्ठा रिर्भर साइडले मासिक ६० हजारमा भाडामा लिएका छन् । सन्दर सुदूरपश्चिमले क्याम्पस चौकमा रहेको सरोज आयलको १० कट्ठा जमिन पनि मासिक ५५ हजारका दरले भाडामा लिएर बस सञ्चालन गर्दै आएको छ । 

भन्सारमा समेत ३ कट्ठा जमिनको मासिक ७ हजार भाडा तिर्दै आएको सापकोटाले बताए । खप्तड मालिकाले समेत धनगढीमा एक सटरसहितको खोका सञ्चालनको १२ हजार मासिक भाडा तिर्दै आएको रिर्भर साइड यातायात प्रालिका अध्यक्ष धिरज शाहीले बताए ।

उनले भने, ‘उपमहानगरपालिकाले काउन्टर खोसेको छ । शिवपुरी यातायात प्रालिको बारेमा हामीलाई जानकारी समेत छैन । हामीबाट खोसेर दिएपनि कैलालीलाइ दिनुपर्ने । तर हामीले पहल गर्दागर्दै शिवपुरीलाइ दिइएको छ। हामीसँग सहकार्य गरिएको छैन । हामी सहदैनौ। शिवपुरीलाई काउन्टर दिए हामी बसपार्कमा गाडी राख्दैनौ। उहाँहरुले नै बसपार्क सञ्चालन गरुन।’

राजनीतिक आडमा शिवपुरीलाई काउन्टर दिएको शाहीको आरोप छ। धनगढी उपमहानगरपालिकाले यातायात व्यवसायीलाई मार्कामा पारेको गुनासो उनीहरुको छ। उनीहरु उपमहानगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतका निकायहरुमा डेलिकेसन समेत गएका छन्। 

बसपार्क ठेक्काको तयारी
सुन्दर सुदूरपश्चिमका प्रालिका अध्यक्ष सापकोटाले वार्षिक ६६ लाख ११ हजार १११ मा ठेक्का लिएका थिए।  कोरोना कहरपछि जारी लकडाउनमा आफु र धनगढी उपमहानगरपालिकाबीचको ठेक्का तोडिएको सापकोटा बताउँछन्। 

यता उपमहानगरपालिकाले बसपार्क ठेक्काको तयारीमा रहेको बताएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले भने, ‘मैले उहाँहरुसँग बस्न पाएको छैन। हामी बसपार्क ठेक्काको तयारीमा छौ। ठेक्का हुँदैछ। उहाँहरुले पनि व्यवस्थापन गर्लान् । उहाँहरु सँग बसेर हामी विवाद सामाधान गर्छौ।

संघीय शहरी विकासको एक करोड ३४ लाख ९२ हजारको लागतमा साविकको सुदूरपश्चिम यातायात व्यवसायी संघले सञ्चालन गर्दै आएको धनगढी बसपार्क स्तरोन्नती गरिएको थियो । संघीय शहरी विकासले सञ्चालनका लागि बसपार्क उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। 

सुदूरपश्चिमको अस्थायी राजधानीको बसपार्क साँघुरो भएको भन्दै नयाँ बसपार्क निर्माणका लागि जमिनको खोजी गरिएको थियो । वडा नम्बर ४ कै शिवपुरी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले संरक्षण गरेको जमिनमा बसपार्क सञ्चालनको तयारी थालिए पनि बिवाद भएको थियो । सो वन क्षेत्र सेनाले दिन मानेको छैन। अन्य क्षेत्रमा समेत उपमहानगरपालिकाले बसपार्क निर्माणका लागि जमिन खोज्न सकेको छैन। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस