सुदूरपश्चिममा मानवअधिकार उल्लंघनका घटनामा कमी आएन
धनगढीः सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघनका घटनामा कमी आउन सकेको छैन।
राज्य पक्ष तथा गैरराज्य पक्षबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कमी नआएको पाइएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुसार सन् २०१९ मा सुदूरपश्चिममा मानवअघिकार उल्लंघन सम्बन्धीका १ सय २५ वटा घटना घटेका छन्। राज्य पक्ष र अन्य पक्षबाट गरी भएका मानवअधिकार उल्लंघनका घटनामा ७ सय ९८ जना पीडित भएको इन्सेकको तथ्यांकमा उल्लेख छ।
नेपालले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको अनुमोदन र सोही अनुरुप कानुन निर्माण गरेको भएपनि मानवअधिकार उल्लं्घनका घटना भने वर्षेनि बढ्दै गएका छन्। हत्या, हिंसा, बलात्कार जस्ता मानव अधिकार उल्लंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै महिला मानवअधिकारकर्मी चित्रा पनेरुले दण्डहिनता बढ्न नदिन राज्यपक्ष र सरोकारवालाहरुको ध्यान दिनुपर्नेमा जोड दिइन्।
सरकारी कानुन मानवअधिकारमैत्री बनेको भएपनि मानव अधिकार उल्लघंनका घटना भने नरोकिएका पनि बताइएको छ। हिंसा पीडितहरुले न्याय नपाउँदा र कानुनको समुचित प्रयोग गर्न नसकिदा मानवअधिकारका घटनामा कमी नआएको अधिवक्ता रेनु प्रधान श्रेष्ठको भनाइ रहेको छ ।
मानवअधिकार उल्लघंन वर्तमान समयको प्रमुख चुनौतिको रुपमा रहेको भन्दै मानव अधिकारकर्मीहले चिन्ता व्यक्त गरेका छन्। इन्सेकका अनुसार शरीर बन्धक बनाउने, अपरहण गर्ने, महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा लगायतका घटना समेत दिनप्रतिदिन बढ्दै गएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानवअधिकार उल्लघंन हुन नदिन राज्य पक्ष जिम्मेवार र नागरिकहरुमा जनचेतना हुनुपर्ने बताए।