सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोरी बालीमा कीराको प्रकोपले कैलालीका किसान चिन्तित, यस्तो छ उपचार विधि

२०७७ मंसिर २६, ०३:५३ खबर संवाददाता

धनगढीः कैलाली जिल्लामा रोपिएको तोरी बालीमा करौंते झिंगाको लार्भा तथा लाही कीरा लाग्ने समस्या देखिएको छ।

तोरीको कोशा लाग्ने र पसाउने समयमा कीराले कोशा खाएर सखाप पार्न थालेपछि किसानलाई चिन्तित बनाएको छ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका कृषक सोमलाल डंगौरा थारुले डेढ विगाह जमिनमा रोपिएको तोरीमा कीरा लाग्ने समस्या देखिएको बताए। कीरा नियन्त्रण कसरी गर्नेवारे आफुलाई समस्या भएको डंगौरा बताउँछन्।

जिल्लाको गौरीगंगा नगरपालिकाको भगवानपुरका किसान शालिभान मन्नीलाई पनि कीराको प्रकोपले चिन्तित बनाएको छ। घर छेवैको ५ कठ्ठा जमिनमा तोरी खेती गरेका उनले बाली लाग्ने बेलामा कीराले सखाप पारेपछि चिन्तित बनेको हो। 

‘तोरीको कोशा लाग्ने बेलामै हरियो कीराले कोशै खाइदिए,’ उनले भने,‘यसपालि खेतमा गहुँ नछरेर तोरी खेती गरेको थिएँ, त्यही कीराले सखाप पारिदियो।’ उनी मात्रै हैनन् अहिले तोरी खेती गरेका तमामौ किसान कीराको प्रकोपले हैरान छन्।

गत वर्ष पनि तोरी खेतीमा सोही कीराले हैरानी खेपेको बताउँदै अर्का किसान भोजबहादुर मन्नीले भने,‘यसपालि पनि त्यही समयमा कोशा फस्टाउने बेलै कीराले खाइदिन थाल्यो।’ बजारबाट विषाधी ल्याएर छर्कदा समेत कीरा नमरेको बताउँदै उनले भने,‘कीरा मार्ने विषाधी पनि तोरी बारीमा छ¥यौं त्यसले पनि मरेनन्।’ कीरा नमरेपछि बचेखुचेको तोरीबारी सबै सखाप हुने भन्दै उनले चिन्ता व्यक्त गरे। ‘तोरीबाली कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ,’ उनले भने,‘कृषि प्राविधिकलाई सोध्दा विषाधी प्रयोग गर्नुस् भन्छन्, विषाधीले कीरै मर्दैन।’  

उपचार विधि
कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्रराज शर्माले तराईको विभिन्न क्षेत्रमा कीराले तोरी बालीमा असर पारेको जानकारी आएको बताउँदै त्यसको उपचार पनि सम्भव भएको जनाए।

सामान्यतयाः घरेलु प्रविधि तथा जैविक औषधीले नियन्त्रण गर्न सकिने बताउँदै प्रमुख शर्माले नीमबाट बनेका औषधी २/३ पटक छरेपछि नियन्त्रण हुने जानकारी दिए।

यदि किराको प्रकोप धेरै भएको तथा धेरै क्षेत्रफलमा फैलिएको अवस्थामा मात्रै रासायनिक विषादी छर्नुपर्ने शर्माले सुझाए। 

उनले भने,‘यतिबेला तोरीमा मौरी पनि खेलिरहेको हुन्छन्। रासायनिक विषादी छरेमा मौरीका साथै बालीमा नै असर गर्छ। त्यहीभएर सकेसम्म नीमबाट बनेका औषाधी प्रयोग गर्नुपर्छ। यदि यसले नियन्त्रण भएको अवस्थामा ‘सेस्टेमिक पोस्टिसाइड’ विषाधी छर्न सकिन्छ । तर त्यसका लागि कृषि प्राविधिक सँग सल्लाह लिएर मात्रै प्रयोग गनुपर्छ।’  
 

कमेन्ट लोड गर्नुस