सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती निर्माणको माग गर्दै ढुंगाडमा ७५० डोकासहित प्रदर्शन

२०७७ मंसिर २२, ०४:५८ खबर संवाददाता

धनगढी : बोलन्या थलीले ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन गरेको छ। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोध स्वरुप बैतडीको ढुंगाडमा उक्त आन्दोलन गरिएको हो।

बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको स्थानमा बोलन्या थलीले ७५० डोकासहित विशाल जनसभा आयोजना गरेको थलीका संयोजक यादव जोशीले बताए। उक्त जनसभामा डडेल्धुरा, डोटी र बैतडीबाट डोकासहित प्रदर्शनकारी उपस्थित भएको उनले बताए।

प्रदर्शनकारीहरुले ‘आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ’, ‘मृत सपना जिन्दा गर पश्चिम सेती लागु गर’, ‘सरकार बनाउछौँ मात्र भन्छ पश्चिम सेती कहिले बन्छ’ लगायतका नारा लगाएका थिए। 

कार्यक्रममा बोल्दै संयोजक जोशीले अबपनि राज्यले पश्चिम सेती निर्माण नगरे लडाकु दस्ता तयार पारेर संर्घष गर्ने चेतावनी दिएका छन्। ‘पश्चिम सेतीका लागि अब सरकारले तत्काल निर्माण प्रक्रिया अगाडी नबढाए लडाकु दस्ता तयार पारेर संर्घष गर्छौ’ उनले भने। 

यसअघि  बोलन्या थली माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ। यस्तै सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन पनि गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस