बैतडीको डिलाशैनीमा गाउँपालिका केन्द्र विवादः प्रदेश सरकारले अन्याय गरेको गुनासो
धनगढी: बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको केन्द्र विवादलाई लिएर स्थानीय जनप्रतिनिधी सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष पुगेका छन्। सोमबार मुख्यमन्त्रीलाई भेटेर प्रदेश सरकारले गाउँपालिका केन्द्रबारे विभेद र अन्याय गरेको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन।
विगतमा गाउँपालिकाको वडा नम्बर ७ भानी गाउँमा केन्द्र रहेकोमा अहिले सम्पर्क कार्यालय रहेको वडा नम्बर ३ को पङसेरालाई स्थाई केन्द्र बनाइन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन।
केन्द्रबारे गाउँसभाले गरेको निर्णयलाई सामान्य प्रशासन मन्त्रालयले विवादित भनेको र विवादका लागि स्थानीय तहबाटै समस्याको निरुपण गर्न पत्राचार गरेकोमा उक्त पत्रलाई परिपत्र नगरी प्रदेश सरकारले अलमल पारेको उनीहरुको आरोप छ।
यहाँसम्म की प्रदेश सरकारले त्यो पत्र स्थानीय तहलाई नपठाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमार्फत उक्त प्रस्तावलाई सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै फिर्ता पठाएको डिलाशैनीका १३ जनप्रनिनिधीको आरोप छ।
‘मन्त्रालयले स्थानीय तहबाट नै विवादको विषय टुंगो लगाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रक्रिया अगाडि बढाउन भनी मिती २०७७ कार्तिक १९ गते गरेको निर्णय न्यायसंगत र डिलाशैनीवासीको हितमा भएकाले उक्त निर्णयलाई कार्यान्वयन गरी सङघीय सरकारले डिलाशैनीवासीलाई न्याय दिलाउने कुरामा हामी विस्वस्थ रहन चाहान्छौ’ मुख्यमन्त्री भट्टलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ।
साथै सरकारले जनताको विपक्षमा विभेदकारी निर्णय गरेमा कडा संघर्ष गर्ने चेतावनी समेत उनीहरुले दिएका छन्।
उक्त ध्यानाकर्षण पत्रमा डिलाशैनीको वडा नम्बर ४, ५ र ७ का अध्यक्ष तथा केही वडा सदस्यहरुले हस्ताक्षर गरेका छन्।
सम्बन्धित समाचार :
बैतडीको डिलाशैनीमा गाउँपालिका केन्द्रबारे विवाद चुलियो, महाकाली राजमार्ग अवरुद्ध पार्ने चेतावनी