सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बोरा र गोदाम अभाव देखाउँदै रोक्यो धान खरिद, किसानको ४ दिनदेखि गोदाममै बास

'निकम्मा' खाद्य व्यवस्था तथा व्यापार कम्पनी

२०७७ मंसिर २२, ०७:२२ कमल सावद

धनगढीः नेपाल सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा बोरा र गोदाम घर अभाव भएको भन्दै धान खरिद रोकेको छ ।

कम्पनीले कैलालीको गेटामा रहेको २ गोदाम विश्व खाद्यलाई र अन्य गोदाम निजी क्षेत्रलाई भाडामा दिएको छ । १०÷१० हजार क्वीन्टल क्षमताका २ गोदाम विश्व खाद्यलाई र धनगढीस्ति गोदाम अस्पताल बनाउन दिएको हो । तर धान खरिद चलिरहेको बेला गोदाम र बोराको अभाव देखाउदै धान खरिद नै रोकेको हो ।

खरिद कार्य नै रोकेपछि धान बिक्री गर्न आएका किसानहरु ४ दिनदेखि गेटाको गोदाममा बास बस्न बाध्य भएका छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का बहादुर रानाका २ भाई धनगढीको गेटामा रहेको गोदाममा बास बसेको आइतबार ४ दिन भयो । १० बिगाह धान खेतीबाट उत्पादन भएको १ सय ६० बोरा धान बिक्री गर्न उनीहरु धनगढी आएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उनीहरुको धान खरिद गर्न सकेको छैन । ४ दिनदेखि बोरा नभएको भन्दै धान खरिद नगरेको गुनासो रानाको छ ।

'निकम्मा'

रानाले भने,‘धान बेच्न कञ्चनपुरबाट कैलाली आयौ, तर यहाँ विभिन्न बहाना देखाउँदै खरिद गरेको छैन । ४ दिनदेखि डल्लवमुनि बास बसेका छौ । यहै खाना पकाएर खान्छौ ।’

पीडित किसान भन्छन् कम्पनीको 'निकम्मापनका कारण' आफूहरूले दु:ख पाउनु परिरहेको छ। 

बोरा र गोदामको अभाव देखाउदै धान खरिद गर्न आनाकानी गरेपछि कतिपय किसान फर्किन बाध्य समेत भएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का गोपी चौधरीले डल्लबमा धान लोड गरि धान बिक्री गर्न आएको बताउँदै कम्पनीले खरिद गर्न नमानेपछि फर्किन बाध्य भएको दुखेसो सुनाए । 

डल्लबमा धान बिक्री गर्ना आउने किसानलाई बढी सास्ती भएको छ । खरिद कार्यमा ढिलाइ भएपछि उनीहरु डल्लबमुनि रात बिताउदै आएका छन । 

तर धान बिक्री गर्न आएका किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही दिनपछि बोरा आउने बताउँदै आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल कुमार श्रेष्ठले २ दिनभित्र बोरा आउने दाबी गरेका छन् । अन्य क्षेत्रमा समेत गोदाम भाडाका लागि प्रक्रिया थालिएको उनको भनाइ छ । 

सरकारले मध्यम धानको प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैया र मोटा धानको प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैया मूल्य निर्धारण गरेको छ ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस