सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारको आरोपमा बैतडीका किशोर पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७७ मंसिर २०, ०९:०६ रासस

बालिकालाई बलात्कार गरेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन्  ।

मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया किशाेरीलाई बलात्कार गरेको आरोपमा ती किशाेरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउँदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको उनले बताए । 

पीडित किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ ।” पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका–३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस