धराप बन्दैछ मोहनापुल–अत्तरिया ६ लेन, यस्ता छन् दुर्घटनाका ६ कारण
धनगढीः मोहनापुलदेखि अत्तरिया चौरहासम्म ६ लेन सडकको लम्बाइ १४ दशमलव २ किलोमिटर छ ।
१४ दशमलव २ किलोमिटरको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम अहिले जारी छ । तर नयाँ सडक निर्माण सुरु भएसंगै दैनिक दुर्घटना समेत बढ्दो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार गत श्रावणदेखि असोज १३ गतेसम्म १८ बढी दुर्घटना भएका छन् । ६ महिनाको अवधिमा भएका १८ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन । ३ पुरुष तथा एक महिला र एक चौपायाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीको तथ्याँक छ । १० पुरुष, ५ महिला र एक बालिका गम्भिर घाइते भएका छन् । ४ पुरुष, ३ बालक सहित ७ जना सामान्य घाइते भएका छन् ।
१.अधुरो सडक संरचना
सडक साँघुरो भएको र सवारी चाप वृद्धि भएको भन्दै २ लेनको धनगढी–अत्तरिया सडक ६ लेनमा स्तरवृद्धिको काम जारी छ । बजार क्षेत्र तथा सवारी चाप नभएको क्षेत्रमा ४ लेनको समेत सडक निर्माण गरिएको छ । तर सडक कालोपत्रेको पूर्ण काम भने अझै भएको छैन । सडक निर्माणको काम सुरुभएदेखि बृद्धि भएको सडक दुर्घटनाको संख्या भने झनै बृद्धि भएको छ । सडक निर्माणको चरणमा नै रहेकाले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरीको अनुमान छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख विरेन्द्रबहादुर बोहराले भने, ‘सडक निर्माणको चरणमै रहेकाले समेत दुर्घटना हुने गरेको देखिएको छ । ‘६ लेन क्लियर नभएकाले, कहिले कतै, कहिले कतैबाट सवारी सञ्चालन गर्नुपर्ने छ । त्यो कारणले समेत दुर्घटना हुँदै आएको देखिएको छ, उनले भने ।’
निर्माणको चरणमा रहेको सडकमा प्रयाप्त संकेतहरु समेत नराखिएकाले दुर्घटना हुँदै आएको अनुमान ट्राफिक प्रहरीको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले आधा बाटो बन्दै गर्ने आधा बाटोमा सवारी सञ्चालन हुने भएकाले दुर्घटना हुने गरेको बताए ।
उनले भने, ‘अधा बाटो बन्दै गर्ने, आधा बाटो चन्दै गर्ने भएका कारणले पनि दुर्घटना भएको पाइएको छ ।’
२. ‘तीव्र गति, जीवन क्षति’
धनगढीबाट अत्तरिया जाँदा वा अत्तरियाबाट धनगढी आउँदा तपाइले सवारीको गति हेर्नु भएको छ ? सार्वजनिक सवारी मात्र हैन तपाई–हामीले आफै चलाएको सवारीको पनि गति सो सडकमा कम्तीमा ६० किलोमिटर प्रति घण्टामाथि हुन्छ । हामीलाइ गाडीको गति तीव्र भएको थाहा समेत पाउदैनौ ।
प्रदेश ट्राफिक प्रहरी प्रमख भन्छन, ‘६० किलोमिटर प्रति घण्टा भन्दामाथिको गतिमा सवारी सञ्चालन गर्दा समेत दुर्घटनाको जोखिम बढी हुन्छ । पहिले बाटो साँघुरो थियो । मानिसहरु सोहि अनुसार गाडी चलाउथे । तर अहिले ६ लेनको, राम्रो बाटो पाउदाखेरि अलि ओभर स्पीडमा चलाउन प्रबृति बढी छ, विशेषगरि मोटरसाइकलहरु ।’
मादक पर्दाथ सेवन गरेकाहरुले तीव्र गतिमा सवारी सञ्चालन गरेकाले समेत सडक दुर्घटना बढी भएको ट्राफिक प्रहरीको अुनमान छ ।
३. पार्किङ क्षेत्र, सडक ?
स्तरबृद्धिको क्रममा रहेको मोहनापुल–अत्तरिया ६ लेन सडकको सबै लेनमा सवारी सञ्चालन भएको छैन । तीव्र गतिमा सवारी सञ्चालन हुने मुख्य र यात्रु चढाउने लेनमा दैनिक सवारी पार्किङमा राखिएका हुन्छन् । गोदावरी नगरपालिकाको अत्तरिया चोक, धनगढीको बोराडाँडी क्षेत्र, चटकपुर क्षेत्र, चौराहा क्षेत्र र भन्सार क्षेत्रमा सबैभन्दा बढी सवारी ६ लेन सडकमा पार्किङ गरिएका हुन्छन् । चटकपुर नेपाल आयल निगमको अगाडि दुबैतिर सडक जाम गरेर ट्यांकर पार्किङ गर्ने गरेकाले पनि अन्य सवारी सडक क्षेत्रबाट हटाउन समस्या भएको ट्राफिक प्रहरीले बताएको छ ।
‘बाटो बन्दै गरेको । बाटोका नजिक पहिलेदेखि घर, ग्यारेजहरु रहेका । त्यही ठाउँमा बिग्रेका वा अन्य गाडीहरु पनि राखिदिने । ट्यांकरको कुरामा अझै पनि छलफलमै छ । अर्काे ठाउँ खोज्दै हुुनुहुन्छ । बाटोमा ट्यांकर राखिदा अरु गाडी पनि हामीले राख्दा के हुन्छ भने, खाली गाडी वा माल बोकेका गाडीहरु राखिदिने । रातिको समयमा नदेखेर वा देखेर मान्छेहरुले ज्यान ठोक्काको अवस्था पनि छ, गौतमले भने ।
४.लेन अनुशासनको कमी
धनगढी–अत्तरिया सडक ६ लेनको हो । ३ लेन एकतर्फ र ३ लेन एकतर्फ निर्माण गरिएका छन् । धेरै क्षेत्रमा ४ लेनको समेत सडक छ । तर छाडा चौपाया जस्तै मानिसहरुले पनि लेन अनुसासनको पालना भने गरेका देखिदैन् ।
तीव्र गतिमा सवारी सञ्चालन गर्न सकिने मुख्य लेनमा गाई–बस्तु आराम गरिरहेका हुन्छन् । सोहि लेनमा पैदल यात्रु समेत हिडिरहेका हुन्छन् । साइकल यात्रुहरुले पनि सो लेनको प्रयोग गरेका हुन्छन् । रोड क्रस गर्नेहरुले समेत अनुशासनको पालना गरेको देखिदैन । सडक निर्माण पूर्ण नभएकाले सडक संकेतहरु प्नि राखिएका छैनन् । सोही क्रममा मानिसहरुले सडकमा मनोमानी गर्दा समेत दुर्घटना बृद्धि भएको ट्राफिक प्रहरीको छ ।
गौतम भन्छन, ‘काठमाण्डौमा आफ्नो लेनमा हिड्न सिकाइएको हुन्छ । लेन अनुशासनको पालना व्यापक गराइएको छ । ६ लेनको बाटोमा एकातिर ३ लेन छ । ३ लेन हुँदाखेरि एक हाई स्पीडको लेन हो । एक मिडिएम स्पीडको लेन हो र एउटा सर्भिस लेन हो । सर्भिस लेनमा गाडी रोक्ने, प्यासेन्जर उठाउने हो । अब यहाँ जुन लेनमा पनि तुफान कुदाइ दिनुपर्ने । ३ सय १० मिटरको दूरीमा क्रस राखिएको छ । एउटा लेनबाट अर्काे लेनम जानका लागि । तर मानिसहरु क्रसलाई समेत ध्यान नदिएर गलत लेनबाट गइरहेका हुन्छन् ।’ ट्राफिक प्रहरीले लेन अनुशासानका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।
यात्रुहरु भने जरिवाना काटिएपछि मात्रै ट्राफिक नियमबारे जानकारी पाउने गरेको बताउँछन्। ‘यात्रुहरुलाई लाइसेन्स वितरणका दौरान ट्राफिक नियमबारे जानकारी दिनसके सहज हुने थियो। तर यहाँ भने जरिवाना काटेपछि मात्रै जानकारी दिने गरिन्छ’ एक यात्रुले भने।
५.छैन सडक बत्ती
सडक बत्ती नभएकाले समेत दुर्घटना बढी भइरहेको आंकलन गरिएको छ । लेन अनुसासनको पालना नगर्ने चालकहरुले सवारीको बत्ती डिम नगर्ने र आँखामा बत्ती गर्ने भएकाले सवारी ठोकिने तथा सडक क्षेत्रबाट चिप्लिने गरेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । रातिको समयमा मादक पदार्थ समेत सेवन गरेर गाडी सञ्चालन हुँदै आएको छन् ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख गौतमले दिनेशखबरसंग भने, ‘उनीहरुले अन्य गाडी नदेख्ने गरेका कारण समेत दुर्घटना भएको देखिएको छ ।’
६. छाडा चौपाया
उसैपनि अव्यस्थित सडक, त्यसैमाथि छाडा छौपायाका कारण सडक दुर्घटना बढ्दो छ । ६ लेनमा दुर्घटना हुनुको एउटा कारक छाडा चौपाया रहेको प्रहरीको भनाइ छ ।