कञ्चनपुरका पौरखी वडाध्यक्ष ढकालः माछा हुर्काएर गर्छन् लोभलाग्दो आम्दानी
धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकाललाई वडा र गाउँका जनगुनासो सुन्न भ्याइनभ्याइ हुन्छ, तर उनले फुर्सद निकालेर मछापालन गर्न थालेको पनि दुई वर्ष हुन लागिसक्यो।
मेहेनती र उद्यमशील यी राजनीतिज्ञले बेलौरीमा घर नजिकै पोखरी बनाएर माछाका भुरा हालेपछि माछा मात्रै हुर्किइरहेका छैनन्, उनको आम्दानी पनि वृद्धि हुन थालेको छ र उनले वर्षमा लाखौँ रुपैयाँ अतिरिक्त कमाइ गर्न थालिसकेका छन्।
आफ्नो नयाँ उद्यमबारे वडाअध्यक्ष ढकालले दिनेशखबरसँग भने,‘माछा हुर्काउनु मात्र पर्छ, माछाका लागि बजार पाउन समस्या छैन। माछाबाट मात्रै वार्षिक चार-पाँच लाख जति आम्दानी हुने गरेको छ।’
बेलौरीमा अहिले हरिया उखु खेतहरूबीच उनले डेढ बिघा जग्गामा माछा पोखरीहरू बनाएका छन् । त्यहाँभित्र उनले रहु, नैनी, भाकुर, सिल्भरकार्प, कमन कार्प गरि ६ जातका माछा पालेका छन् । माछा पाल्न थालेदेखि उनले पछाडि फर्किएर हेर्नु परेको छैन । किनभने उनको माछा पालन व्यवसाय पनि उनका माछाका भुरा जस्तै गरि निरन्तर हुर्किइ नै रहेको देखिन्छ।
पौरखी वडाअध्यक्ष राज्यले प्रदान गरेको केही सेवा भोग गर्दै आएका छन् । नगरपालिकाको वडाको जिम्मेवारी वहन गरेबापत मासिक २८,००० भत्ता पनि पाउँदै आएका छन्।
थप आम्दानीबारे उनले हाँस्दै दिनेशखबरसँग भने, ‘सरकारबाट दिने गरेको सेवा सुविधा त लिनैपर्यो कि त भने भ्रष्टाचार गर्नुपर्यो, कि त सेवा सुविधा लिनुपर्यो । त्यसकारणले गर्दाखेरी सेवा सुविधा पनि लिने, तर काम चाहिँ इमान्दारितापुर्वक, गुणस्तरीय प्रकारले, भ्रष्टाचारमुक्त तरिकाले चाहिँ काम गर्ने । राज्यले दिएको सेवा सुविधा छोडेर यहाँ चाहिँ ठूलो मान्छे बनौँला भनेर के सोच्ने ?’
साथ सहयोग
उनलाई साथ सहयोगको कमी छैन । ३८ वर्षीय वडाध्यक्ष ढकाल आफूले गरिरहेको व्यवसायमा ६३ वर्षीया आमा ढुण्डीकला ढकालका साथसाथै घरपरिवारले एकदमै धेरै नै साथ दिइरहेको बताउँछन् । उनले त्यहाँ पूरा समय दिएर प्रत्यक्ष रुपमा ३ जना र अप्रत्यक्ष रुपमा ११ जनाले गरि १४ जनाले रोजगारी पाएको बताए ।
विसं २०७४ असाढ १४ गते वडाध्यक्षमा निर्वाचित उनले गत वर्ष (२०७६)को चैत महिनाबाट माछा पालन सुरु गरेका थिए । उनले ४ वटा पोखरीमा माछा पालन गरेका छन् ।
माछा पालनमा समयको जोहो कसरी गर्छन् ?
उनले आफूले कार्यालय समयभन्दा अगाडि पछाडिको समय व्यवसायलाई दिने गरेको र अन्य समयमा घरपरिवारका साथै त्यहाँ काम गरिरहेका कामदारहरुले हेर्ने गरेको बताउँछन् । पहिलेदेखि नै बेलौरीमा व्यापार गर्दै आएका उनको आर्थिक अवस्था पहिलेदेखि नै सबल नै रहेको छ । तर पनि केही गर्ने सोचका साथसाथै जोश र जाँगर पनि भएका उनले आफ्नो व्यसायलाई फराकिलो बनाउँदै लगिरहेका छन् ।
चल्ला उत्पादन
यसैगरी उनले दुई हजार पचास कुखुराका चल्ला उत्पादन गर्न सक्ने हयाचरी मशिन समेत राखेका छन् । त्यस्तै चार सय पचासको संख्यामा लोकल कुखुरा पनि पालेका छन् । यतिमात्र नभइ वडाध्यक्ष ढकालले बट्टाई, टर्कि, हाँस पनि पालेका छन् ।
योसँगै उनी सुदूरपश्चिमका लागि पर्यटन पूर्वाधार बन्न सक्ने फिस रिसोर्ट सञ्चालनको तयारीमा छन्। भन्छन्, ‘अहिले रिसोर्टको भवन बनाउने काम भइरहेको छ।’
चल्ला कोरल्ने मशिन
ह्याचरीका लागि भने बजार पाउन अलि समस्या रहेको उनी सुनाउँछन् । “सुरुसुरुमा भएर पनि होला चल्लाको बजार पाउन अलि गाह्रो छ, तर त्यति अप्ठ्यारो भने छैन ।” उनी भन्छन् ।
राजनीति गरेर मात्रै बस्नुभन्दा आर्थिक उपार्जनका निम्ति व्यवसाय सुरु गरेको उनको भनाइ छ: “राजनीति भनेको समाजसेवा हो, आर्थिक उन्नतिका लागि व्यापार व्यवसाय गर्नु पर्यो” उनी भन्छन्, “समाजसेवा (राजनीति) बाहेकको बाँकी समयको सदुपयोग गरी व्यवसायलाई दिन सकिन्छ, जसले आर्थिक लाभ पनि हुन्छ ।”
किसानको रूपमा उनले देश दर्शन पनि गरिसकेका छन्: “बेलौरी नगरपालिकाको कृषि अन्तर्गत हामी मेची महाकाली अध्ययन अवलोकन भ्रमणमा गयौँ । त्यहाँ जनप्रतिनिधिहरुले पनि कृषि व्यवसाय गरेको देखेँ । नगरपालिकामा अध्ययन अवलोकनमा निस्किँदा यहाँका युवा तथा किसानलाई माछा पालन, बङगुर पालन लगायतका कृषि कार्य गर्न भन्छौँ । तर आफै गरेर देखाउँदा उनीहरुलाई नि हौसला मिल्न सक्छ । त्यसैले नि सुरु गरेको हुँ ।”
जात जातका चरा हुर्काउन व्यस्त रहेपनि उनलाई माछापालन नै अलि बढि मन पर्छ। उनकै शब्द सापटी लिएर भन्नु पर्दा त्यसको कारण प्रस्ट छ: ‘माछा बेच्ने बजार पाउन एकदमै सजिलो छ र त्यसको आम्दानी पनि मनग्गे छ।’