सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाने होइत त बझाङको तातोपानी कुण्ड

फोटो : साइपाल खबर
फोटो : साइपाल खबर
२०७७ मंसिर १८, ०५:१९ आशिष मल्ल

धनगढी: धेरै कमलाई जानकारी हुनसक्छ म्याग्दीको तातापानी जस्तै बझाङमा पनि तातोपानी कुण्ड रहेको छ। जिल्लाको तलकोट गाउँपालिका वडा नम्बर १ स्थित तपोवन क्षेत्रमा उक्त कुण्ड अवस्थित छ।  

सेती नदीको किनारमा रहेको उक्त कुण्डको पानी बाह्रै महिना तातो हुन्छ। तर वर्षातमा भने नदी बढ्दा छाल आएर कुण्डलाई केही असर गर्छ। उक्त स्थानमा माघे संक्रान्ति, शिव रात्री, कृष्ण जन्माष्टमीमा मेला लाग्ने गरेको स्थानीय बताउँछन्। 

यस्तै विवाह, ब्रतवन्ध तथा पैतृक कार्य समेत उक्त स्थानमा हुने गरेको गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले जानकारी दिए। धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिएको उक्त स्थानमा स्नान गर्दा छाला र हड्डी सम्बन्धी रोग निर्मूल हुने विश्वास रहिआएको उनले बताए।

केहिदिन अघि मात्रै तातोपानी गएर आएका दिपक ओलीले सदरमुकाम चैनपुर नजिक रहेको उक्त स्थानलाई अदभुत भनेका छन्। ‘कुण्डमा पहिलोपटक खुट्टा राख्दा यसरी पोल्यो कि, मानौ कसैले भकभक उमालेको पानी खन्यायो। पटकपटकको प्रयासपछि बल्ल शरिरले पानी स्विकार गर्यो। तातोपानीमा नुहाइसकेपछि जीउ यति हलुका र शान्त भयो कि वर्णन गर्ने शब्द नै छैन।’

उक्त तातोपानी कुण्ड पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट गाडी चड्दा ४५ मिनेटमा पुग्न सकिने बताइएको छ। सडक सञ्जालसँग जोडिएपछि तपोवनको सुन्दर दृश्य अवलोकन गर्न र तातोपानीमा नुहाउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको गाउँपालिकाले जनाएको छ।

पर्यटकीय क्षेत्र बनाउने तलकोटको योजना
तलकोट गाउँपालिकाले तपोवन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्ने योजना बनाएको छ। हाल सुदूरपश्चिम प्रदेश सरकाले उपलब्ध गराएको ६० लाखको बजेटमार्फत केही पूर्वाधार निर्माण गर्ने गाउँपालिका अध्यक्ष विष्टले बताए। 

‘यस्तै हामीले १७ करोड भन्दा बढीको वृस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार पारेर सङ्घीय र प्रदेश सरकारलाई बुझाएका छौ’ उनले भने, ‘दुवै सरकारबाट बजेट आएपछि लिफ्टिङमार्फत पानी तानेर महिना र पुरुषका लागि बेग्ला बेग्लै कुण्ड बनाउने योजना रहेको छ।’ 

उक्त क्षेत्रमा रहेको शिवालय मन्दिर, झोलुङ्गे पुल, भर्याङ लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने योजना डिपीआरमा समावेस गरिएको उनले जानकारी दिए।  

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस