सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट बालक बेपत्ता

२०७७ मंसिर १८, ०३:३५ रासस

बैतडी: एक बालक दुई दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन्।

बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए।

एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेको उनले बताए। बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए। 

गाडी लाइनमा जागिर लगाइदिने भन्दै कसैले आफूलगायत अन्य सात÷आठजनालाई धनगढी लगेको फोनमार्फत भनेको बुबा देवदत्तले बताए। विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन।

विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ। देवदत्तले बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा  निवेदन दिनुभएको छ। प्रहरीले बालकको खोजी जारी रहेको बताएको छ। बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी भइरहेको गुरुखोला प्रहरीचौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए।  

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिलाई नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ। बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए।  

कमेन्ट लोड गर्नुस