सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुख कटानी अनुमतिपत्र नआउँदा सेती लोकमार्गको काम रोकियो

२०७७ मंसिर १७, १२:११ कमल सावद

धनगढीः मन्त्रिपरिषद्को स्वीकृतीमा वन मन्त्रालयले सेती लोकमार्गको कैलाली खण्डमा पर्ने रुख कटानी आदेश दिए पनि आधिकारिक रुपमा पत्र नपाउँदा काम अघि बढ्न सकेको छैन।

गत मंसिर १० गते संघीय वन तथा भू–संरक्षण मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि आदेश दिएको थियो।

तर सो सम्बन्धीआधिकारिक पत्र प्राप्त नभएकाले वनको अवरोधका कारण रोकिएको काम अगाडि बढ्न नसकेको बताइएको छ। 

सडक निर्माणको ठेक्का पाएको स्वछन्द–नागार्जुन–बानिया जेभीले आधिकारीक अनुमतिपत्र नआएका कारण अन्यौल कायमैँ रहेको जनाएको छ। 

‘फोन मार्फत सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश आएको जानकारी पाएका छौँ,’ जेभीका सञ्चालक दिपक सिंंह भन्छन्, ‘तर आधिकारीक पत्र आएको छैन्। आधिकारीक पत्र नआएकाले काम गर्न सकिएको छैन्। वनले पत्राचार गरेपछि मात्रकाम अगाडी अढाउँछौँ।’

दक्षिणमा भारत र उत्तरमा चीनको सीमानासँग जोड्न निर्माण थालिएको सेती लोकमार्गको कैलाली खण्डकका ९ हजार ६ सय ८६ रुख कटानीका लागि संघीय वन मन्त्रालयले गत बुधबार आदेश दिएको थियो। 

कैलालीको बौनियादेखि ४० किलोमिटर उत्तर ठुलीगाडसम्मको सडक निर्माणका लागि ४२ महिना पहिला निर्माण सम्झौता गरिएकोमा ३४ महिनादेखि काम भने अलपत्र  छ। 

‘३६ महिनामा ४० किलोमिट सडकको ट्रयाक निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौताको समय सकिएको ६ महिना भएको छ । तर सडक निर्माणको काम ३० प्रतिशत मात्र भएको छ।’ योजना कार्यालय अछामका प्रमुख ललित खनालले भने।
रुखका कारण रोकिएको काम अब भने कटानी आदेश पाएकाले अगाडि बढ्ने विश्वास गरिएको छ। 

बहुप्रतीक्षित लोकमार्गको जीरो प्वान्ट टीकापुर हो। तर टीकापुरदेखि बौनियासम्मको १९ किलोमिटर सडक निर्माणको ठेक्का भने गरिएको छैन। 

सो खण्डमा २ लेन सडक कालोपत्रेका लागि तयारी थालिएको योजना कार्यालयले जनाएको छ।

बौनियादेखि उत्तर ठुलीगाडसम्ममा ४० किलोमिटर क्षेत्रको सडक निर्माणका लागि ३३ करोडमा ठेक्का सम्झौता गरिएको थियो। 

झण्डै ३ सय ६० किलोमिटर टीकापुर, बौनिया, ठुलीकाड, लोडेगाड, बेरासेन, रानागाउँ, तमैल, चैनपुर, धुली, ताक्लाकोट लोकमार्ग निर्माणको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारिएको छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस